काठमाडौं । तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त भएका सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) पुष्पराम केसी र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रामशरण पौडेललाई फौजी परम्परा अनुसार बिदाइ गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आइतबार आयोजित विशेष समारोहका बीच उनिहरुलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्यालले फुलमालाका साथ मायाको चिनो प्रदान गर्दै हार्दिक बिदाई गरेका हुन् ।
यसैगरी सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती ज्योती केसीलाई सो संघकी उपाध्यक्ष श्रीमती अनिता अर्यालले फुलमालासहित हार्दिक बिदाई गरिन् ।
त्यसैअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याललाई संगठनको सम्पूर्ण जिम्मेवारी बर-बुझारथ गरे ।
त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले आ-आफ्नो मन्तव्य राखेका थिए ।
समारोहमा सम्बोधनको क्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्यालले उनिहरुले सशस्त्र प्रहरी बल नेपालमा ३० बर्षसम्म सेवारत रहेर राष्ट्रको सुरक्षा आम नागरिकको सेवा र सांगठनिक विकासमा पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै उनिहरुको आगामी जीवन सुखमय रहोस् भनि हार्दिक शुभकामना व्यक्त गरे ।
त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलको सम्मानमा सशस्त्र प्रहरी बल नेपालको एक टोलीले सलामी अर्पण गरेको थियो ।
उक्त विदाई समारोह लाईभ भिडियो स्ट्रिमिङ्ग तथा सशस्त्र प्रहरी बल नेपालको संचार मार्फत सम्पूर्ण इकाईहरुमा हेर्ने र सुन्ने व्यवस्था मिलाईएको थियो।
समारोहमा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुका साथै सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु लगायत सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।