काठमाडौं । सरकारले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई सुरक्षा संवेदनशिलताका आधारमा फिल्डमा खटाएको छ ।
प्रहरी प्रधान कार्यालयले मतदानस्थलको संवेदनशीलताका आधारमा संख्या बाँडफाँट गरेर ७ प्रदेश र उपत्यकामा फरक-फरक संख्यामा म्यादी प्रहरी परिचालन गरेको हो । सरकारले स्थानीय तह निर्वाचनका लागि १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो ।
सात प्रदेश र काठमाडौं उपत्यकाका तीन जिल्लालाई फरकफरक संख्या बाँडफाँट गरेर स्थानीय तह निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीलाई फिल्डमा खटाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए ।
सबैभन्दा बढी म्यादी प्रहरी मधेस प्रदेशका आठ जिल्लामा खटाइएको छ । सो प्रदेशमा २१ हजार म्यादी खटाइएको छ ।
यसैगरी, सबैभन्दा कम संख्यामा काठमाडौं उपत्यकाका तीन जिल्लामा म्यादी प्रहरी परिचालन गरिएको छ । काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ४ हजार ७ सय ११ जना म्यादी प्रहरी खटाइएको हो । निर्वाचनमा सुरक्षा संवेदनशीलताको विश्लेषण गरेर संख्या निर्धारण गरी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यसैगरी, प्रदेश १ का १४ जिल्लामा १७ हजार ४ सय २१ जना खटाइएको छ भने बाग्मती प्रदेशका काठमाडौं उपत्यकाबाहेकका १० जिल्लामा १२ हजार १ सय ८६ जना खटाइएको छ ।
यस्तै, गण्डकी प्रदेशका ११ जिल्लामा १० हजार ९ सय ३३, लुम्बिनीमा १२ जिल्लामा १५ हजार ८ सय २८ जना, कर्णाली प्रदेशका १० जिल्लामा १० हजार ७ सय ५३ जना र सुदूरपश्चिमका नौ जिल्लामा १० हजार १ सय ६१ जना म्यादी प्रहरी परिचालन गरिएको छ । सबै गरी ७७ जिल्लामा ९९ हजार ९ सय ९३ जना म्यादी प्रहरी स्थानीय तह निर्वाचन सुरक्षाका लागि खटाइएको हो । म्यादी प्रहरी ४० दिनका लागि परिचालन हुने बताइएको छ ।
म्यादीमा भर्ना हुनका लागि २ लाख ९३ हजार ३ सय १४ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमध्येबाट ९९ हजार ९ सय ९३ जना छनोट गरेर तालिम दिइएको प्रहरी प्रवक्ता केसीले जानकारी दिए ।
म्यादी प्रहरीलाई गत २७ चैतमा नियुक्तिपत्र दिएको थियो । उनीहरूलाई स्थानीय तह निर्वाचन पूरा भएको ७ दिनपछिसम्म परिचालन गर्ने प्रहरीको योजना छ ।
म्यादी प्रहरीमा भर्ना हुन २ हजार ५ सय ४८ जना पूर्वसैनिकले समेत आवेदन दिएका थिए । आवेदन बुझाउनेमा ११ जना पूर्वमहिला सैनिक छन् । पूर्वप्रहरीबाट १६ महिलासहित एक हजार ४४७ जना र सशस्त्र प्रहरीबाट अवकाश लिएका ४ सय ९५ जनाले पनि म्यादीमा भर्ना हुन आवेदन दिएका थिए । राजधानी दैनिकबाट