काठमाडौ । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बिहिबार आयोजित एक समारोहकाबीच सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा पदोन्नती भएका ७२ जना अधिकृतहरुलाई उल्लेखित दर्जाको दर्ज्यानी चिन्ह (फूली) प्रदान गरेका छन् ।
त्यसअवसरमा महानिरीक्षक केसीले पदोन्नती भएका सशस्त्र प्रहरी नायब उपरीक्षकहरुलाई बधाई तथा कार्य सफलताको शुभकामना दिंदै संगठनमा रहेर उनिहरुले प्रदर्शन गरेको व्यावसायिकता र सेवा प्रवाहको मुल्यांकन स्वरुप पदोन्नती प्राप्त भएको बताए ।
उनले दर्जासँगै बढेको जिम्मेवारीलाई अझ बढि क्रियाशिल भई कार्यसम्पादनमा जुट्न निर्देशन दिंदै कमाण्डर तहका अधिकृतहरुले मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई सहि मार्गनिर्देशन दिदै कार्यक्षेत्रमा खटिन अभिप्रेरित गर्नुपर्ने बताए ।
महानिरीक्षक केसीले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्दै जिम्मेवारीका क्षेत्रहरुमा परिचालन हुँदा अझै बढि अनुशासित, लगनशिल र ईमान्दारितापूर्वक राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा कटिबद्ध भई क्रियाशिल रहन निर्देशन दिए ।
नेपाल सरकार गृहमन्त्रालय सचिवस्तरको बिहिबारको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूह, साधारण समूह लेखा उप-समूह, साधारण समूह कानून उप-समूह र प्राविधिक समूह स्वास्थ्यतर्फका सशस्त्र प्रहरी निरीक्षकहरु सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा पदोन्नती भएका हुन् ।
समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्धय रामशरण पौडेल र राजु अर्याल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।