काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा आ.व. २०७८/०७९ को तालिम समीक्षा तथा चालु आ.व. ०७९/८० को लागि नेपाल प्रहरीको तालिम क्यालेण्डर तर्जुमा गोष्ठी शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच समापन भएको छ ।
उक्त अवसरमा आईजीपी थापाले प्रहरी जवान र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको लागि मुद्रण गरिएका सम्पूर्ण म्यानुअलहरुको प्रतिनिधिमूलक रुपमा प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको अपराध अनुसन्धान विषयको प्रशिक्षक निर्देशिका र प्रशिक्षार्थी निर्देशिका बिमोचन गरे ।
उक्त अवसरमा आईजीपी थापाले प्रहरी सेवामा प्रवेश भएका नयाँ जनशक्तिलाई प्रहरीको काम, कर्तव्य र संगठनले निर्धारण गरेको उद्देश्य प्राप्तिका लागि तालिम प्रदायक संस्थाहरुले आधुनिक प्रशिक्षण विधिलाई अवलम्बन गर्दै लैजानुपर्ने बताए । आधुनिकीकरणसँगै बढ्दो अपराधिककरणलाई सहजरुपमा अनुसन्धान गर्नका लागि प्रहरी कर्मचारीहरुलाई कामको प्रकृति अनुसार तालिम प्रदान गरेमा अपराध अनुसन्धान तथा न्यूनीकरण गर्न थप सहज हुने उनले उल्लेख गरे ।
आईजीपी थापाले तालिम प्रदायक संस्थाहरुले प्रहरी सम्बन्धि ज्ञानमात्र नभई प्रहरी सेवामा चाहिने भाइचारा, स्वअनुशासन, आफ्नो कर्तव्यप्रति निष्ठावान र नैतिक शिक्षा प्रदान गर्न सदैव क्रियाशील हुनुपर्नेमा जोड दिए । समाजले चाहे अनुरुपको सेवा प्रदान गर्न र कार्यक्षेत्रमा देखिएका कमि कमजोरीलाई न्यूनीकरण गर्नका लागि तालिम प्रदायक संस्थाहरुले सोही अनुरुप पाठ्यक्रम तर्जुमा गरी प्रहरी जनशक्तिलाई तालिम प्रदान गर्नुपर्ने उनले चर्चा गरे ।
सो अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा संचालन हुने तालिम कार्यक्रमहरुलाई व्यवस्थित रुपमा संचालन गर्न र कार्यक्षेत्रमा विद्यमान चुनौतीहरुलाई सामना गर्न सक्ने सीपयुक्त एवं व्यावसायिक प्रहरी जनशक्तिको विकास गर्न यस तालिम क्यालेण्डर तर्जुमा गोष्ठी फलदायी रहने विश्वास व्यक्त गरे ।
प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा.देव बहादुर बोहराले स्वागत मन्तव्य व्यक्त गरेका उक्त समारोहमा प्रतिष्ठानका उप-निर्देशक तथा तालिम शाखा प्रमुख प्रहरी उपरीक्षक तारा देवी थापाले गोष्ठीको सार संक्षेप एवम् आगामी वर्षको तालिम योजना सहितको प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरण पश्चात प्रहरी अधिकृतहरुले सुझाव तथा टिप्पणी गरेका थिए ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा संचालित तीन दिवसीय उक्त गोष्ठीमा प्रतिष्ठानका साथै प्रदेश प्रहरी तालिम केन्द्रहरू, जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर लगायत देशभरका अन्य प्रशिक्षण कार्यालयहरूका प्रमुख, तालिम शाखा प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा सेवाकालीन तालिमका विषयमा विभिन्न चरणमा घनीभूत छलफल भएको थियो ।
समापन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत बरिष्ठ प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।