काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी नायब उपरीक्षकबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा र सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा अवकाश पूर्व विशेष बढुवा भएका ११ जना अधिकृतहरुलाई सशस्त्र प्रहरी बल, नेपाल प्रदान कार्यालय हलचोक स्वयम्भूमा मंगलबार आयोजित एक समारोहमा उल्लेखित पदको दर्ज्यानी (फूली) चिन्ह प्रदान गरेका छन् ।
समारोहमा सम्बोधनको क्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्दै उनिहरुले आफ्नो जीवनको स्वर्णिम समय राष्ट्र र नागरिकको सेवा, सुरक्षामा व्यतित गरी सांगठानिक बिकासमा पुर्याएको योगदान प्रति हार्दिक आभार प्रकट गर्दै उनिहरुको कार्यसम्पादनको क्रममा प्रदर्शन गरेको कार्यदक्षताको मुल्यांकन स्वरुप पदोन्नती प्राप्त भएको बताए ।
उनले संगठनमा नियुक्ति तथा अवकाश निरन्तर चलिरहने एउटा प्रक्रिया रहेको उल्लेख गर्दै बढुवा भएका अधिकृतहरुलाई हार्दिक बधाई दिंदै अवकाश पश्चात समेत उनिहरुले आ-आफ्नो ठाउँबाट संगठनको श्रीबृद्धिका लागि बिभिन्न सहयोग, सुझाब तथा सल्लाह निरन्तर रुपमा प्रदान गरिरहने विश्वास व्यक्त गरे ।
महानिरीक्षक खनालले उनिहरुको अवकाश पछिको जीवन सुखमय रहोस भन्ने सुभेक्च्छा व्यक्त गर्दै उनिहरुले संगठनमा विभिन्न नियुक्तिमा रहेर मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रदान गरेको कुशल नेतृव्व तथा प्रशिक्षण र परिचालनले सशस्त्र प्रहरी बल नेपालको नाम उच्च बनाएको उल्लेख गर्दै संगठनका नेतृत्व तहले समेत सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको बृत्तिविकासमा ध्यान पुर्याउँदै नेपाल एपीएफ अस्पताल मार्फत स्वास्थ्य सेवा प्रदान, नेपाल एपीएफ स्कुलमार्फत सन्ततीका लागि उच्च स्तरीय शिक्षा प्रदान गर्नुका साथै समयानुकुल विविध कल्याणकारी योजनाहरु तर्जुमा गर्दै अगाडी बढिरहेको बताए ।
नेपाल सरकार गृहमन्त्रालय सचिवस्तरको चैत्र ७ र १५ गतेको निर्णयले उनिहरु सो पदमा विषेश बढुवा भएका थिए ।
समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।