काठमाडौं । नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा नेपाली सेनाबाट निवृत्तिभरणमा रहेका भू.पू. सैनिक तथा तिनका एकल महिलाहरुको सहभागितामा बाँकेको, नेपालगञ्जस्थित श्री नं. ४ बाहिनी अड्डामा आयोजना भएको "नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन-२०७८" कार्यक्रम सोमबार प्रधान सेनापति महारथी प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृतबाट स्वागत मन्तव्य तथा प्रधान सेनापति महारथी प्रभुराम शर्माबाट दिप प्रज्वलन गरी समुद्घाटन भएको उक्त सम्मेलनमा बाँके र बर्दिया जिल्लाहरुमा बसोबास गर्ने करीब २५०० (दुईहजार पाँचसय) जना नेपाली सेनाका भूतपूर्व सैनिक तथा परिवारजनको सहभागिता रहेको थियो ।
उक्त सम्मेलनलाई सम्बोधन गर्दै प्रधान सेनापति महारथी शर्माले नेपाली सेनाको संस्थागत मूल्य र मान्यताहरुलाई जीवन्त राख्न अवकाश प्राप्त अग्रज सैनिकहरूले गरेको निःस्वार्थ सेवा तथा भूमिकाको प्रशंसा गर्दै भू.पू. सैनिक तथा तिनका एकल महिलाहरुको सर्वपक्षीय समुन्नति र प्रगति, नेपाली सेनाको बलियो आधार स्तम्भ रहेको बताएका थिए । नेपालमै बसेर परिश्रम गरे सफल भईन्छ भन्ने सन्देश दिंदै उनले ‘Welfare Vision 2030’ अनुरुप हिताधिकारीहरुको असिमित चाहना र आकांक्षाहरुको सम्बोधन गर्दै कल्याणकारी कोषलाई थप दिगो, मितव्ययी र पारदर्शी बनाउने लक्ष्य रहेको जानकारी गराएका थिए ।
सम्बोधनकै क्रममा उनले हाल संचालन भईरहेका कल्याणकारी कार्यक्रम तथा सेवा सुविधाहरुका सम्बन्धमा संक्षिप्त जानकारी गराउँदै नेपाली सेनाको श्रोत, साधन र क्षमताले भ्याएसम्म यस किसिमका सेवा सुविधाहरु भविष्यमा थप विस्तार तथा अभिवृद्धि गर्दै लगिने विश्वास समेत दिलाएका थिए ।
‘भूतपूर्व सैनिक सम्मेलनको अभिलाषा-सेना प्रतिको समर्पण र भरोसा’ भन्ने आदर्श वाक्यलाई आत्मसाथ गर्दै आयोजना भएको उक्त कार्यक्रममा बाँके जिल्ला, खजुरा गाउँपालिका वडा नं. ३ निवासी जेष्ठ भूतपूर्व सैनिक, ८४ (चौरासी) वर्षका श्री ज्वालादल गणबाट अवकाश प्राप्त हुद्धा भक्त बहादुर गुरुङ्ग (अ.प्रा.) र श्री दि फेमस महिन्द्रदल गणबाट अवकाश प्राप्त स्वर्गीय हुद्धा केशवराज सिग्देल (अ.प्रा.) को श्रीमती, बर्दिया जिल्ला, गुलरीया नगरपालिका वडा नं. ४ निवासी, ८६ (छयासी) वर्षकी जेष्ठ एकल महिला श्रीमती हिमाकान्ती सिग्देललाई सम्मान गरिएको थियो भने सर्वोत्कृष्ट उद्यमी व्यवसायीहरुलाई प्रशंसा-पत्र एवं पुरस्कार वितरण गरिएको थियो ।
उक्त समारोहमा, ४ वा सो भन्दा बढी सन्ततिहरुलाई नेपाली सेनामा सेवा गर्न अभिप्रेरित गर्ने १ (एक) जना बुवालाई सम्मान, फरक क्षमता भएका तथा अशक्त ९ (नौ) जनालाई स्कुटर, व्हिल चेयर, बैसाखी तथा आर्थिक सहयोग प्रदान गरिनुका साथै लघुबित्त कार्यक्रम एवं महिला उद्यमशिलता कर्जा प्राप्त गर्ने व्यक्तिहरुलाई चेक हस्तान्तरण गरिएको थियो ।
भू.पू. सैनिकहरुको तर्फबाट प्रादेशिक रथीबृन्द प्रतिनिधि तथा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका वरिष्ठ उपाध्यक्षबाट मन्तव्य एवं बलाधिकृत रथी बाल कृष्ण कार्कीको समापन मन्तव्य सहित समापन भएको उक्त सम्मेलनमा, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द तथा अधिकृतहरु, कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत, नेपाल ईन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत, बहालवाला एवं अवकाशप्राप्त सैनिक तथा परिवारहरु र अन्य आमन्त्रित अतिथि तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।