रबिन्द्र यादव । बैशाख ३० मा हुने स्थानीय तह निर्वाचन सुरक्षाका लागि खोलिएको म्यादी प्रहरीमा ७७ वटै जिल्लामा आवेदन दिने म्याद शुक्रबार सकिएको छ । नेपाल प्रहरीले एक लाख माग गरेको म्यादी प्रहरी मध्ये नवलपरासी पश्चिम जिल्लामा सुरक्षाका लागि एक हजार २९ जनाको मात्र म्यादी प्रहरी माग गरिएको हो ।
शुक्रबार अन्तिम दिनसम्म ५ हजार ७ सय ३८ जना मध्येबाट ४ हजार ३ सय ७८ जना पुरुष र १ हजार ३ सय ५८ जना महिला आवेदन दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी प्रेम बहादुर शाहीले बताए । ४० दिने म्यादी जागिरको लालसामा जिल्ला प्रहरी कार्यालय परासीमा दिनहुँ आवेदन दिनेहरुको लाम लाग्ने गरेको थियोे । दिनहु युवाहरूको भिडले देशमा बेरोजगारीको अवस्था छर्लङ्ग पारिदिएको देखिन्छ । आवेदन दिन आउनेमा पुरुषसँगै महिलाहरूको सहभागिता पनि उल्लेखनीय देखिएको थियो ।
स्थानीय चुनावका लागि जिल्लामा १ हजार २९ म्यादी प्रहरी भर्ना गरिने जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । नवलपरासी पश्चिम जिल्लामा आबेदन खुल्ला भएको दोस्रो दिनमै माग बमोजिम दोब्बरको आबेदन परेको थियो ।
सरकारले म्यादी प्रहरीमा नेपाली सेना, नेपाल प्रहरी, र सशस्त्र प्रहरीमा पहिले काम गरेका, पूर्व वन रक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाशप्राप्त, अघिल्लो निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएकालाई प्राथमिकता दिइने जनाएको छ । यसका लागि १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले शुक्रवार यही चैत ११ गते सम्म आवेदन दिन सक्ने समयसीमा तोकेको थियो ।
जिल्लामा पहिलो दिन ९ सय ६४ जना, दोस्रो दिन १२ सय ११ जना, तेस्रो दिन १५ सय १३ जना, चौथो दिन ९ सय १४ जना, पाचौ दिन ६ सय ९१ जना र छेठौ दिन ४ सय ४५ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ । यी मध्ये दुई जना तेस्रो लिङ्गी समेतले रहेको प्रहरीले बताएको छ । यसपटक म्यादी प्रहरीले नेपाल प्रहरीको मातहतमा रही ४० दिन खटिनेछन् । ४० दिनसम्म भर्ना हुने म्यादी प्रहरीले तलब,भत्ता,राशन सबै जोडेर ४३ हजार पाउने छन् ।
म्यादी प्रहरीका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीमा आवेदन दिएर मेडिकल पास गरेका मानिसहरू पहिलो प्राथमिकतामा छन् । दोस्रो,प्राथमिकतामा पूर्वप्रहरी, सेनाबाट निवृत्त भएका वा जागिर छोडेका पर्छन् ।
तेस्रो, प्राथमिकतामा विदेशी सुरक्षा निकायमा काम गरेर सेवा निवृत्त भएका वा जागिर छोडेर आएका पर्छन् । चौथो, प्राथमिकतामा सुरक्षा निकायमा भर्ना हुनका लागि न्यूनतम् मापदण्ड पूरा हुन सक्ने व्यक्तिहरू पर्नेछन् ।
यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले ९८ हजार २ सय ६८ जना म्यादी प्रहरी भर्ना गरिएको थियो ।