रबिन्द्र यादव । नवलपरासी पश्चिममा ९ महिनाको अवधिमा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ६ करोड ९ लाख ४१ हजार बराबरको सामान राजस्व दाखिला गरेको छ ।
प्रहरीले ५ करोड ४६ लाख ६९ हजार २ सय ८९ मुल्य बराबरको भन्सार छली विभिन्न अवैध मालसामान (हरियो केराउ, विभिन्न किराना सामान, हार्डवेअरको सामान,लत्ता कपडा, विभिन्न ईलेक्ट्रोनिक सामान, सवारी साधनका पार्टपुर्जा तथा पशु तथा चौपायाजन्य) बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार तथा राजस्व अनुसन्धान कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज कुमार यादवले बताए ।
एसपी यादवका अनुसार यस अवधीमा नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न ४७ वटा ट्याक्टर, २ वटा जेसिबी समेतलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्बन्धित स्थानीय तहमा बुझाईएको जसबाट ८ लाख ४३ हजार ४ सय ३७ मुल्य बराबर राजस्व दाखिला भएको छ ।
यसै अवधीमा ३५ लाख ९० हजार श्रोत नखुलेको रकम सहित ४ जना व्यक्तीलाई पक्राउ गरी कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल बुझाईएको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट ११ लाख ६२ हजार ७ सय ९३ मुल्य बराबरको अवैध काठ र ६ लाख ७५ हजार ५ सय मुल्य बराबरको जडिबुटी समेत बरामद गरी डिभिजन वन कार्यालयमा बुझाएको छ ।
त्यस्तै अवैध मालसामान, अवैध नदीजन्य पदार्थ उत्खनन् कारवाही, श्रोत नखुलेको रकम, अवैध काठ तथा जडिबुटी समेत गरी कुल जम्मा ६ करोड ९ लाख ४१ हजार २१ मुल्य बराबरको राजस्व दाखिला भएको प्रहरीले जनाएको छ ।
साथै जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट १७७ जना फरार अभियुक्त पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला अदालतमा पेश गरीएको छ ।
जिल्ला अदालतबाट २०४३ सालदेखि बिभिन्न मितिमा फैसला भई सजाय तोकी तत्काल सजाय भुक्तान गर्न बाँकी रहेका विभिन्न मुद्दाका फरार प्रतिवादी रहेका छन् । फरार अभियुक्तहरु जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरीएको हो ।
पक्राउ पर्नेमा सबै भन्दा पुरानो २०४३ सालदेखि फरार रहेका १ जना वन मुद्दाका फरार अभियुक्त पनि छन् । उनलाई जिल्ला अदालतबाट १ हजार १ सय ६ रुपैयाँ जरीवाना तोकिएको थियो ।
अदालतको लगत अनुसार प्रक्राउ पर्नेमा अधिकतम सजाय जवरजस्ती करणी मुद्दाका १ जना अभियुक्तको ९ बर्ष कैद र ५० हजार रुपैयाँ जरीवाना तोकिएको छ भने अन्य अभियुक्तहरुको कसुर अनुसार कैद तथा जरीवाना तोकिएको छ । पक्राउ परेका १७७ जना अभियुक्तहरुको एकमुष्ट जम्मा सजाय ५१ बर्ष ६ महिना ९ दिन कैद र २१ लाख ३० हजार ६ सय २५ रुपैयाँ जरिवाना रहेको छ ।
पक्राउ परेका सबै फरार अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा पेश गरिसकिएको छ भने अदालतबाट लगत अनुसारको कारबाही भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।