टेकप्रसाद राई । सामान्यतया सुरक्षा भनेको कुनै पनि वस्तु तथा व्यक्तिको रक्षा गर्नु हो, क्षतिबाट जोगाउनु हो, जसमा वस्तु, व्यक्ति, धन सम्पत्तिमाथि हुन सक्ने खतराको रोकथाम गर्नु अर्थात् क्षति, हानि हुनबाट रोक्न गरिने क्रियाकलाप तथा उपायहरूलाई जनाउँदछ । यो एक मानवीय सतर्कता पनि हो ।
हाम्रोसामु संघारमा नै आइरहेका पर्वहरूमा नेपालीहरूको महान् चाड दशैं, तिहार र छठ रहेका छन् । यही बेलामा इस्लाम धर्मावलम्बीहरूको पर्व मोहरम पनि रहेको छ । यस बेलामा किनमेल गर्ने तथा आफ्ना कर्मथलोबाट जन्मथलो जानेहरूको चहलपहल बाक्लो हुन्छ । हर्ष, उल्लास, खुशीयाली लिएर आइरहेका चाडपर्वहरूमा नागरिकहरूको आफ्नो सानो गल्तीले चाडपर्व पीडादायी हुन सक्छ । अपराधीहरूले यस्तै चहलपहल, भीडभाड तथा घरमा कोही नभएको मौकाको फाइदा उठाउन लागिपरिरहेका हुन्छन् । यस्ता चाडपर्वहरूका बेलामा विभिन्न अपराधी समूहहरूले अवसर खोजिरहेका हुन्छन् । यसका मुख्य कारणहरू मध्ये नागरिकहरूको आफ्नै लापरबाही र बेवास्ता रहेको देखिन्छ भने अपराधीले जहिले पनि मौका खोजिरहेको हुन्छ । यी दुई अवस्थामा नै अपराधीले अपराध गर्ने तथा घटाउने गर्दछ । यसर्थ उत्सव मनाउँदा, किनमेल गर्दा र यात्रा गर्दा सदैव चनाखो एवं सतर्क हुन आवश्यक हुन्छ । सुरक्षा सतर्कता अपनाउन सकिएन भने जो कोही जहाँ पनि कुनै समयमा ठगिन, चोरिन र लुटिन सक्छ ।
विगतमा पनि चाडपर्वको समयमा चोरी लुटपाट, कुटपिट, झैभगडा, सवारी दुर्घटनाहरू बढी भएको तथ्यांकले देखाएको छ । यसर्थ अन्य बेलाभन्दा चाडपर्वको समयमा अझ बढी नागरिकहरू सजक रही सतर्कता अपनाउनु पर्दछ । यस्ता अपराध रोकथाममा प्रहरीहरूले विशेष सुरक्षा योजना बनाएर अघि बढिरहेको भएता पनि नागरिकहरूले पनि निम्न केही उपायहरू अवलम्बन गर्न सके अझ शान्तिसुरक्षा तथा अमनचैन कायम गर्न र सुरक्षित रहन सकिन्छ । ति केही उपायहरू निम्न छन् :
घरबाट बाहिर जाँदा अपनाउने उपायहरू
- पर्यटक जस्तो अर्थात् कुनै स्थानमा नौलोरूपमा आएको जस्तो नगर्ने ।
- अपरिचित मानिसहरूसँग अनावश्यक बोलचाल नगर्ने ।
- अपरिचित मानिसहरूले दिएको कुनै पनि वस्तु नलिने र नखाने ।
- आफ्नो परिचय खुल्ने कागजात तथा आपतकालीन अवस्थामा सम्पर्क गर्ने फोन नं. राख्ने साथै आफ्नो कागजपत्रहरू परिचयपत्र, मुख्य कागजात वा फोटो खिचेर सुरक्षित राख्ने ।
- नगद बहुमूल्य सामानहरू नलिई हिँड्ने । पैसा, नगदहरू धेरै बोकेर नहिँड्ने, बोक्नु परेमा सुरक्षित स्थानमा राख्ने ।
- यात्राको क्रममा मादक पदार्थ सेवन नगर्ने ।
- स्थानीय सद्भाव, रीतिरिवाजलाई आदर गर्ने ।
- भड्किलो रवाफ देखाउने पोशाकहरू प्रयोग नगर्ने ।
- आफु यात्रा गर्न जाने स्थानहरू नजिकको प्रहरीबारे जानकारी लिने ।
- केही आपत् परेमा के गर्ने भनेर योजना बनाउने ।
- सबैसँग सभ्य शिष्टता प्रदर्शन गर्ने ।
कुनै शंकास्पद व्यक्ति, वस्तुहरू देखिएमा नजिकको प्रहरीलाई जानकारी दिने साथै प्रहरी कार्यालयको ‘हट नम्बर’ हरू जहिले पनि साथमा लिई हिँड्ने एवम् जानकारी समेत दिने ।
घर तथा अन्य स्थानमा चोरी हुनबाट सुरक्षित हुने उपायहरू :
- सदैव जस्तोसुकै परिस्थितिमा पनि व्यक्तिगत सतर्कता रहने बानी बसाल्ने ।
- सदैव आफ्नो घर वरिपरि तथा हिँडडुल गर्दा सावधानी अपनाउने र रहने साथै शंकास्पद वस्तु तथा व्यक्तिहरूको निगरानी गर्ने ।
- घरबाट बाहिर कहीँ जानु पर्दा छिमेकी साथै नजिकको प्रहरीलाई खबर गरी मात्र जाने ।
- बाहिर निस्कनु अघि झ्याल ढोका राम्ररी बन्द गर्नेे ।
- घरको बाहिरी कम्पाउण्डमा सीसी क्यामरा तथा अटोमेटिक सेन्सर लाइट जडान गर्ने ।
- ताल्चा राख्ने स्थान तथा विशेष स्थानमा अलार्म सुरक्षा साइरन जडान गर्ने ।
- नगद, बहुमूल्य सामानहरू दराजभित्र नराखी सुरक्षित स्थानहरू जस्तै बैंकको लकरमा राख्ने ।
- आफ्नो बहुमूल्य सामानहरूको फोटो खिचेर राख्ने यदि चोरी भएमा सो प्रहरीले पत्ता लगाउन सहयोग हुन सक्छ ।
- बहुमूल्य सामानहरू प्रदर्शन नगर्ने ।
- गरगहनाको सौखिन भए नक्कली गरगहना प्रयोग गर्ने ।
- बैंकहरूबाट पैसा झिक्दा वा जम्मा गर्दा विशेष सतर्कता अपनाउने ।
- लामो समयसम्म बाहिर जाने बस्नुपर्ने भएमा घर कम्पाउन्ड, कोठामा सेन्सर लाइटको प्रयोग गर्ने ।
- रातको समयमा बिजुली बत्तीको व्यवस्था गर्ने ।
- ताल्चा लगाउँदा बाहिर गेटबाट नभई भित्रबाट लगाउने, बाहिरबाटै लगाउनुपरेमा पनि बलियो ताल्चा लगाउने ।
- रातिको समयमा घरमा केही नभए पनि कोठाको बत्ती बाल्ने साथै पर्दा राम्ररी लगाउने ।
- नचिनेको मानिसलाई घरभित्र पस्न, छिर्न नदिने ।
- विभिन्न कार्यालयका कर्मचारी, भाँडाकुँडा बनाउने, ग्यास चुलो बनाउने, हुलाकी आदिको कभर लिई प्रवेश गर्न खोज्ने हुँदा त्यस्ता व्यक्तिहरूको एकिन गर्ने ।
- अपरिचित व्यक्तिहरूले घरभित्र प्रवेश गर्न नदिने अर्थात् गेट नखोल्ने ।
- सकभर घरमा कुकुर पाल्ने ।
- सकभर घरलाई खाली नराख्ने ।
- यदि घरको ढोका, झ्याल फोडिएको देखेमा तुरुन्तै प्रहरीलाई खबर गर्ने ।
व्यक्तिगत सुरक्षा
- एकान्त ठाउँबाट हिँडडुल नगर्ने ।
- विशेष रातको समयमा हिँडडुल गर्दा एक्लै नहिँड्ने, हिँड्नु परेमा साथीभाइ, समूहमा मात्र हिँड्ने ।
- आफुले हिँड्ने, घुम्न जाने ठाउँको बारेमा पूर्वजानकारी राख्ने ।
- यात्रा गर्दा आफ्नो सामान, झोलाहरूको राम्ररी चेकजाँच गरी मात्र हिँड्ने ।
- अनौठो शंकित व्यक्तिहरू देखिए दूरा बनाएर हिँड्ने ।
- सार्वजनिक यातायातबाट यात्रा गर्दा सकभर नसुत्ने ।
- शंकास्पद व्यक्तिहरू देखिएमा तुरुन्तै प्रहरीलाई खबर गर्ने ।
- यात्रा गर्ने गाडीमा चढ्नु अगाडि गाडीको नम्बर नोट गर्ने साथै आफन्तलाई सो गाडीको बारेमा जानकारी दिने ।
विशेषतः चाडपर्वहरूमा अत्यधिक मादकपदार्थ सेवन एवं जुवातास खेल्ने गरेको पाइएकोले यसतर्फ सबै नागरिकहरूले सचेत भई यस्ता कार्यहरूमा सरिक हुनुहुँदैन । यो चाडपर्वको नाममा कुरीति नै हो । यस्ता कार्यहरूले समाजमा शान्ति होइन, सदैव अशान्ति नै ल्याउने गर्दछ । झगडा एवं अन्य अपराधहरूको एउटा मुख्य जडो नै मादकपदार्थ सेवन एवं जुवातास भएकोले यस्ता कार्यहरू कदापि नगर्ने र नगराउने, भएको देखेमा तुरुन्तै नजिकको प्रहरी कार्यालयमा खबर गरी कानूनी दायरामा ल्याउनु सबै सचेत नागरिकको कर्तव्य पनि हो ।
यसर्थ उल्लेखित केही उपायहरू अवलम्बन गरिएमा समाजमा सुरक्षित रही शान्ति कायम गरी सामाजिक, सांस्कृतिक र धार्मिक सद्भाव कायम गर्न सकिन्छ । यो हामी सबै सचेत, चेतनशील नागरिकको राष्ट्रमाथिको कर्तव्य एवं दायित्व पनि हो । हाम्रो संघारमै आइपुगेको महान् चाडपर्वहरू दशैंतिहार, छठ, मोहरममा सबै नागरिक समुदाय, धर्मावलम्बीहरूमा उत्साह छाओस्, हर्ष उल्लासको साथ मनाऔं, सबैको कामना पूरा होस्, विविधतामा सुरक्षित एकता कायम गरौं । सबै जनसमुदायमा हार्दिक मंगलमय शुभकामना !!!
(लेखक नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक तथा महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख हुन् ।)