रबिन्द्र यादव । नेपाल प्रहरीले ७७ वटै जिल्लामा स्थानीय तहको निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्नाको दरखास्त आवेदन लिने र प्रशिक्षार्थी प्रवेश पत्र दिने प्रक्रिया शुरू गरेको छ ।
नवलपरासी पश्चिम जिल्लामा एक हजार २९ म्यादी प्रहरी भर्ना लिइने सूचना अधिकारी प्रेमबहादुर शाहीले जानकारी दिए । प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभाग भर्ना छनौट महाशाखा नक्सालले भर्ना म्यादी प्रहरी सम्बन्धि सूचना प्रकाशन गरे अनुसार आइतबारबाट नवलपरासी पश्चिम प्रहरीले पनि प्रशिक्षार्थीको दरखास्त आवेदन लिने र प्रवेश पत्र दिने कार्य शुरु गरेको छ । जिल्लामा पहिलो दिन ६ सय ४२ जना पुरुष र ३ सय २२ जना महिला गरि जम्मा ९ सय चौसट्ठी जनाले म्यादी प्रहरी भर्नाका लागि आवेदन दिएको शाहीले बताए ।
बिहान ८ बजेदेखि नै करिब डेढ सय मिटरको तीन वटा लामो भर्ना हुने निवेदन कर्ताहरुको लाइन लाग्ने गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । आवेदन कर्ताहरुको भिडभाड र तिनका सवारीसाधनले बाटो संचालनमा समस्या देखिएपछि ट्राफिक प्रहरी र सुरक्षाकर्मी जवान खटाएर सहज बनाइएको थियोे । यसरी दिनहु दरखास्त आवेदन संख्या रहयो भने अन्तिम ११ गते सम्म सात दिनमा करिब ७ हजार भन्दा बढि जनाले दरखास्त आवेदन दिन सक्ने प्रहरी स्रोतले बताएको छ ।
आसन्न बैशाख ३० गते स्थानिय तहको निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्लामा एक लाख म्यादी प्रहरी माग गरेको छ । ४० दिनसम्म भर्ना हुने म्यादी प्रहरीले तलब,भत्ता, राशन सबै जोडेर ४३ हजार पाउने छन् ।
म्यादी प्रहरीका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीमा आवेदन दिएर मेडिकल पास गरेका मानिसहरू पहिलो प्राथमिकतामा छन् । दोस्रो, प्राथमिकतामा पूर्वप्रहरी, सेनाबाट निवृत्त भएका वा जागिर छोडेका पर्छन् ।
तेस्रो, प्राथमिकतामा विदेशी सुरक्षा निकायमा काम गरेर सेवा निवृत्त भएका वा जागिर छोडेर आएका पर्छन् । चौथो, प्राथमिकतामा सुरक्षा निकायमा भर्ना हुनका लागि न्यूनतम् मापदण्ड पूरा हुन सक्ने व्यक्तिहरू पर्नेछन् ।
यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले ९८ हजार २ सय ६८ जना म्यादी प्रहरी भर्ना गरिएको थियो ।