काठमाडौं । तनहुँ, पाल्पा, सिरहा र सिन्धुलीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार तनहुँ आँवुखैरेनी गाउँपालिका-२ ऐना पहरास्थित सडकमा ग.२ ख ३०७ नम्बरको बस र ग.३ च ६०१२ नम्बरको टाटासुमो एकआपसमा ठक्कर खाई सडकबाट करिब ५ मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा सुमो चालक समेत ३ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको आबुखैरेनीस्थित हाडजोर्नी अस्पताल हुँदै पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य १० जनामध्ये १ जनाको आबुखैरेनीस्थित हाडजोर्नी अस्पताल र ५ जनाको सोही अस्पताल हुँदै नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ भने ४ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी पाल्पा तानसेन नगरपालिका-५ ढुङ्गाखानीस्थित सडकमा लु.१४ प ६८६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई करिब १५ मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा चालक रिब्दिकोट गाउँपालिका भैरवस्थान बस्ने २० वर्षीय भरत गोदारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी सिरहा नरहा गाउँपालिका-३ खोरियाटोलस्थित सडकमा बीआर ०७ एएम ३०६३ नम्बरको कार अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा कारमा सवार धनुषा कमला नगरपालिका-१ हथलेटवा बस्ने २२ वर्षीय धिरज मण्डलको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका अन्य ३ जना घाइतेमध्ये १ जनालाई उपचारको लागि विराटनगर रिफर गरिएको छ । हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी सिन्धुली दुधौली नगरपालिका-५ ठाकुर खोलास्थित पुलमा दुधौली नगरपालिका-४ वाँणेगाउँबाट कटारीतर्फ बिहेको जन्ती बोकेर जाँदै गरेको ना.३ ख ७४९० नम्बरको टिपर अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा टिपरमा सवार कटारी नगरपालिका-२ बस्ने २३ वर्षीय जितेन्द्र कुमर समेत २ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका २४ जनालाई सोही स्वास्थ्य केन्द्र हुँदै ४ जनालाई काठमाडौं, ८ जनालाई विराटनगर, २ जना सिन्धुली अस्पताल रिफर गरिएको छ भन्ने १० जना उपचार पश्चात् डिस्चार्ज भएका छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।