काठमाडौं । गत मंगलबार बसेको मन्त्रीपरिषद बैठकले नेपाल प्रहरीमा तीन एसएसपी सहित ३ हजार पाँच सय ९६ जनाको दरबन्दी स्वीकृत गरेको छ । दुई चरणमा पदपूर्ति गर्नेगरी दरबन्दी थपको निर्णय भएको गृहमन्त्रालय सम्बद्ध उच्च स्रोतको दावी छ।
गृहमन्त्रालय सम्बद्ध उच्चस्रोतका अनुसार गृहमन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद बैठकले जनपद समुहतर्फ दुई र प्राविधिक (प्रहरी संगीत बिद्यालय) तर्फ एक एसएसपीको दरबन्दी थप गरेको हो।
थपिने दरबन्दीमा प्राविधिक सहित चार प्रहरी उपरीक्षक (एसपी), एक्काईस प्रहरी नायब उपरीक्षक (डिएसपी), ४७ प्रहरी निरीक्षक (इन्स्पेक्टर), ८६ प्रहरी नायब निरीक्षक (सई), दुई सय सन्तानब्बे प्रहरी सहायक निरीक्षक (असई), ६ सय ८३ प्रहरी हवल्दार, दुई हजार दुई सय सोह्र प्रहरी जवान र दुई सय उन्चालीस प्रहरी कार्यालय सहयोगी पद छन्।
दरबन्दी थप भएसंगै संगीत बिद्यालयका एसपी राजेन्द्र गुरुङ एसएसपीमा बढुवा हुने भएका छन्। त्यस्तै जनपद समुहतर्फ दुई एसएसपीको दरबन्दी थपिएपछि रिक्त एसएसपीको पद चार पुगेको छ। एसएसपी बिश्वराज पोखरेलको डिआईजीमा बढुवा भएपछी रिक्त एक र एसएसपी शरदकुमार खत्रीले अवकास पाएपछि रिक्त एक समेत जोड्दा दुई एसएसपीको पद रिक्त थियो।
दरबन्दी थप भएसंगै गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले बढुवाको प्रक्रिया अगाडी बढाउने तयारी थालेको उच्च स्रोतको दावी छ। 'अब छिट्टै बढुवाको प्रक्रिया शुरु हुन्छ।' गृहका एक उच्च अधिकारीले भने।
जनपद समुहतर्फको चार एसएसपीको लागि थुप्रै एसपीहरु बिच चर्को प्रतिस्पर्धा हुने देखिएको छ। एसपीहरु भरतबहादुर बोहरा, रविन्द्र केसी, कुबेर कडायत, बिष्णुकुमार केसी, राजेशनाथ बास्तोला, सुदीप गिरी, दुर्गा सिंह (चन्द), जनक भट्टराई, बिकासराज खनाल, हृदय थापा, अशोक सिंह, लालमणी आचार्य, नवराज भट्ट, केदार ढकाल, राजेन्द्र बिष्ट, उमाशंकर पन्जियार, किरण राणा, चक्रबहादुर सिंह, अर्जुन चन्द ठकुरी, मुकेशकुमार सिंह लगायत एसएसपी बढुवाका प्रतिस्पर्धी हुन्।