काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा १४३ औं समूहको प्र.ह./प्र.ज.ट्राफिक नियन्त्रण तालिम महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा आज आइतबार एक कार्यक्रमकाबीच उद्घाटन भएको छ । महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशीले उक्त तालिमको उद्घाटन गरेका हुन् ।
उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले फौजी संगठनमा विशेष महत्व राख्ने यस्ता व्यावसायिक तालिमले प्रशिक्षार्थीहरुको वृत्ति विकासमा महत्वपूर्ण भूमिका खेल्नुका साथै व्यक्तित्व बिकासमा समेत सघाउ पुर्याउने उल्लेख गरे ।
ट्राफिक व्यवस्थापन कार्य दिनानुदिन चुनौतिपुर्ण बन्दै गइरहेको परिप्रेक्ष्यमा विशेष खालका समस्याहरुलाई पहिचान गरि त्यसको निराकरणका लागि ट्राफिक प्रहरीसँग भएका मानविय तथा भौतिक श्रोत साधनहरुको उच्चतम प्रयोग गरि सडक प्रयोगकर्ताहरुलाई सरल र सहज रुपमा सेवा प्रदान गरि ट्राफिक व्यवस्थापन कार्यमा यस तालिमले सहजता ल्याउनुपर्नेमा उनले जोड दिए ।
प्रशिक्षार्थीहरुले यसअघि संगठनको विभिन्न नियुक्तिमा रहि लामो अनुभव प्राप्त गरिसकेको चर्चा गर्नुहुँदै तालिमलाई विशेष मौकाको रुपमा सदुपयोग गर्दै अझ बढि अध्ययनशिल र मेहनती भई फौजी अनुशासन कायम राख्दै स्वःस्फूर्त रुपमा तालिमबाट बढि भन्दाबढि ज्ञान आर्जन गर्न प्रयत्नशिल रहने विश्वास पनि व्यक्त गरे ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ४५ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी हवल्दार २ जना र प्रहरी जवान ७५ जना गरी कुल ७७ (१२ महिला सहित) जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिए ।
उक्त तालिममा ट्राफिक व्यवस्थापनका विविध विषयका स्रोत व्यक्ति तथा विषय विज्ञद्वारा सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण प्रदान गर्दै तालिमलाई वैज्ञानिक र स्तरिय ढंगले संचालन गरिने कुरा सो समारोहमा जानकारी गराइएको थियो ।
कार्यक्रममा महानट्राफिक महाशाखा तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका प्रहरी अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।