काठामाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले निर्माणाधिन काठमाडौं- तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको विभिन्न स्थानको मंगलबार स्थलगत निरीक्षण गरेका छन् ।
सो क्रममा मख्खुवेशी, सिस्नेरी, महादेवटार, लेनडाँडा र बुदुने रानीसेरास्थित वेशक्याम्पहरु र सडक खण्डहरुको कार्य प्रगतिबारे स्थलगत जानकारी लिएका जंगी अड्डाले जनाएको छ ।
निरीक्षणको दौरान निर्माणाधिन महादेवटार सुरुङ खण्ड (प्याकेज १) र लेनडाँडा-धेद्रे सुरुङ खण्ड (प्याकेज २) को हाल भइरहेको कार्यको निरीक्षण गरी ठेक्का सम्झौता बमोजिम कस्ट तथा समय सीमाभित्र रही गुणस्तरीय रुपमा तोकिएको समयमा नै निर्माण कार्य सम्पन्न गर्न र सो को लागि अधिकतम जनशक्ति लगायत मेसिनरी उपकरणहरुको परिचालन गरी आवश्यकता अनुसार डबल सिफ्टमा काम गर्ने व्यवस्था मिलाउन समेत कन्ट्रयाक्टर, परामर्शदाता तथा परियोजनाका पदाधिकारीहरूलाई उनीहरुले निर्देशन दिएका थिए ।
निरीक्षण भ्रमणको दौरान प्रधान सेनापति शर्मा तथा रक्षा सचिव किरणराज शर्माले निर्माणको गुणस्तर कायम गर्न सम्झौतामा उल्लेख भए मुताविक स्थान विशेषमा नै दुरुस्त ल्याव टेष्टको व्यवस्था गरी निर्माण सामाग्री एवं निर्माण कार्यको गुणस्तर एकिन गर्ने तथा भेरिफिकेसन गर्ने व्यवस्था मिलाई परियोजनाको निरन्तर अनुगमन र नियमन गर्न आयोजना प्रमुख तथा अन्तर्राष्ट्रिय परामर्शदातालाई विशेष निर्देशन दिए ।
प्रधान सेनापति शर्माले उक्त द्रुत मार्गको आसपासमा बस्ने प्रत्यक्ष/अप्रत्यक्ष रुपमा प्रभावित स्थानीय समुदायहरुलाई परियोजनाबाट समुदायलाई हुने लाभबारे विस्तृत रुपमा जानकारी गराउँदै परियोजनालाई समुदाय समेतको सामुहिक सहभागिता/स्वामित्वमा संचालन गर्न आवश्यक पहल गर्न समेत परियोजनासँग सम्बन्धित पदाधिकारी, परामर्शदाता, कन्ट्रयाक्टर एवं स्थान विशेषमा आयोजनाको लागि तैनाथी भएका प्राविधिक लगायतका फौज समेतलाई निर्देशन दिएका थिए ।
साथै, उक्त निरीक्षण भ्रमणमा नेपाली सेनाका रथीवृन्द, द्रुतमार्ग आयोजनाका अन्य पदाधिकारीहरु लगायत नेपाली सेनाका अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।