काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघले कल्याणकारी कार्यक्रम अन्तर्गत नेपाल एपीएफ अस्पताल वलम्बुमा महिला स्वास्थ्य सम्बन्धि सर्भाईकल क्यान्सर प्रिभेन्ट विषयक दुई दिने प्रशिक्षणको आयोजना गरेको छ ।
क्यान्सर कियर नेपाल र प्रिभेन्ट क्यान्सर फाउनडेशन यू.एस.ए.को सहयोगमा संचालन गरिएको उक्त प्रशिक्षणको नेपाल एपीएफ अस्पतालका प्रमुख प्रा. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. रुपक महर्जन र क्यान्सर कियर नेपालका डा. मदन पियाले यही फागुन २० गते संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
त्यसअवसरमा क्यान्सर कियर नेपाल र प्रिभेन्ट क्यान्सर फाउनडेशन यू.एस.ए.ले दुर्गम क्षेत्रमा समेत लगेर महिलाहरुको पाठेघरको सेकाई गर्न मिल्ने पोर्टेवल थर्मल एब्लेशन मेशिन नेपाल एपीएफ अस्पताललाई हस्तान्तरण गरेको छ ।
सो प्रशिक्षणमा नेपाल एपीएफ अस्पतालका विषेशज्ञ डाक्टर प्रा. सशस्त्र प्रहरी उपरीक्षक सौजन्य कर्माचार्य, प्रोफेसर डा. जितेन्द्र परियार, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पतालका प्रोग्राम डाईरेक्टर प्रोफेसर डा. सन्धा चापागाई, प्रोफेर श्यामकुमार जोशी र क्यान्सर कियर नेपालका डा. मदन पियाले क्यान्सर हुन सक्ने कारण, सो बाट बच्ने उपाय, क्यान्सर लागेपछि उपचार सम्भव छ वा छैन तथा क्यान्सर लागेपछि गरिने विविध उपचारको विधि र रोकथामको उपायहरुको बारेमा समेत प्रशिक्षण गरे ।
सो समारोहमा नेपाल एपीएफ अस्पताल, बीर अस्पताल, ओम समाज अस्पताल, नेसनल क्यान्सर अस्पताल र द यूनिभरसिटी अफ टोक्योका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु गरी कुल ४० जनाको सहभागीता रहेको थियो ।