काठमाडौं । २७ असोजमा काठमाडौंमा उत्रिने चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित भ्रमण स्थगित गराई सरकारलाई असफल बनाउने तत्वले प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनाललाई विवादमा तान्ने कामको प्रक्षेपण गरिएको छ ।
चीनसँग सत्तारुढ नेकपा र सरकारको सम्बन्ध बलियो भएको देख्न नसक्ने तत्वले यी सबै प्रोपोगान्डाका लागि प्रहरीकै उच्च अधिकारीको समेत प्रयोग गरेको प्रक्षेपण भएको हो । हालै मात्र आईजी खनालबारे आएका हल्लापछि राजनीतिक तहबाट गरिएको एउटा अध्ययनले उक्त प्रक्षेपणबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोप्य सुझाव दिने तयारी गरेको छ ।
हालसम्म प्रहरीमा कुनै समस्या नरहेका बेला सीको भ्रमण सफल हुन नदिने शक्तिले त्यो काम गरिरहेको बताइएको छ । चीनका राष्ट्रपतिको नेपालमा भ्रमण नहोस् र चीनसँग सम्बन्ध बलियो नहोस् भन्ने कूटनीतिक शक्तिले रिम्पोछेहरूको प्रयोग गरेका छन् । ती रिम्पोछेहरूबाट नेपाल प्रहरीमा प्रभावित उच्च तहका अधिकारीका कारण नेपाल प्रहरीका प्रमुख आईजी सर्वेन्द्र खनाललाई विवादमा ल्याएर सुरक्षा अवस्था राम्रो छैन भन्ने सन्देश दिन खोजिरहेका छन् । खासगरी, यसमा ति व्यक्तिका दुईवटा स्वार्थ रहेको चर्चा सतहमा आउन थालेका छन् ।
सरकारले आईजीलाई हटाए नेपाल प्रहरीमा नयाँ आईजीको बाटो खुल्ने र चिनियाँ राष्ट्रपति सीको समेत भ्रमण रद्द हुनेछ । ‘चीन राष्ट्राध्यक्ष वा उच्च तहका अधिकारीको भ्रमणका बेला कुनै पनि प्रकारका घटना वा दुर्घटना हुनु हुँदैन भन्ने मान्यता राख्छ । त्यहाँमाथि सुरक्षाको अवस्थालाई महिनौं अघिदेखि हेरिरहेको हुन्छ । यस्तो बेला आईजी खनाललाई विवादमा ल्याउने काम गरी चीनलाई सीको सम्भावित भ्रमण रोक्न उक्साउने काम गरिरहेको छ’, उच्च स्रोतले भन्यो, ‘सी विचारधाराका विषयमा ल्याइएको विवाद त्यसको एउटा कसी हो, त्योसँगै प्रहरी सुरक्षा राम्रो छैन भन्नका लागि आईजी खनाललाई बर्खास्त गर्नेलगायतका हल्ला चलाइएका छन् ।’
यता गोप्य रुपमा चिनियाँ प्रतिनिधि मण्डलले भने सीको भ्रमणको अन्तिम रिपोर्ट चिनियाँ कम्युनिस्ट पार्टी र त्यहाँको सरकारलाई पठाउन लागेको छ । नेपालमा सीको भ्रमणले नयाँ गति दिने तयारीका साथ उक्त भ्रमणको तालिका बनाउने काम भएको छ । नेपाल प्रहरीलगायत सुरक्षा निकायले भने सीको सुरक्षा घेरा, ट्राफिक व्यवस्थापनदेखि अनेक विषयमा डेढ महिना भन्दा अगाडिदेखि तयारी गरेको छ । तिब्बती शरणार्थीलगायतका सम्भावित घटना हुनै नदिनका लागि सुरक्षा तयारी तीव्रताका साथ भएको बताइन्छ ।