काठमाडौं । नेपाली सेनाको ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक-२०७८’ शुरु भएको छ । जंगी अड्डामा दुई दिनसम्म चल्ने ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’ को आज प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले महाशिवरात्री तथा सेना दिवस-२०७८ को पूर्वसन्ध्यामा स्वदेश तथ विदेशमा कार्यरत नेपाली सेनाका सकलदर्जामा सुख, शान्ति, समृद्धि र सु-स्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै देशको संवेदनशील भू-राजनैतिक अवस्थितीको कारण अन्तर्राष्ट्रिय र क्षेत्रिय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले पनि देशको राजनीतिक, आर्थिक, सामाजिक तथा समग्र सुरक्षा क्षेत्रमा असर पर्ने भएकाले त्यसतर्फ सचेत रहन आग्रह गरे ।
उनले मुलुकको आर्थिक विकासमा रणनीतिक महत्व राख्ने काठमाण्डु-तराई/मधेस द्रुतमार्ग लगायतका विभिन्न राष्ट्रिय सडक करिडोरहरुको निर्माणमा नेपाली सेनाले पुर्याएको योगदानको प्रशंसा गर्दै उक्त आयोजनाहरु समयमै सम्पन्न गर्न नेपाली सेना सक्षम रहेको बताए ।
साथै, नेपाली सेनाको पहलकदमीमा स्थापना हुन लागेको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको कुशल संचालनमार्फत भविष्यमा यस क्षेत्रमा उच्चस्तरीय जनशक्ति र विशेषज्ञहरु उत्पादन हुने र नेपाली सेना अन्तर्गत संचालित राष्ट्रिय गौरवका आयोजना लगायत महत्वपूर्ण आयोजनाहरुको निर्माणको लागि आवश्यक पर्ने श्रोत साधनको अभाव हुन नदिने विश्वास समेत व्यक्त गरे । यसका अलावा, उनले ‘बंकरदेखि व्यारेक’ कार्यक्रम यथासिघ्र सम्पन्न गरी नेपाली सेनाका सकलदर्जाका लागि उचित कार्य वातावरण सुनिश्चित गर्न समेत सरकार प्रतिवद्ध रहेको बताए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न र नेपाल सरकारका विधिसम्मत आदेशहरु अक्षरसः पालना गर्न कटिबद्ध रहेको जानकारी दिए । उनले प्राप्त जिम्मेवारी पूर्णरुपमा सम्पन्न नभएसम्म नेपाली सेना कर्तव्यपथमा अडिग रहीरहने समेत विश्वास दिलाए ।
साथै उनले देशमा विकसित राष्ट्रिय सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने सबै प्रकारका गतिविधिहरुका सम्बन्धमा नेपाली सेनाले निरन्तर अध्ययन, अनुगमन र विश्लेषण गर्दै रहेको र त्यसबाट सिर्जना हुन सक्ने सुरक्षा चुनौतिहरुलाई सामना गर्न नेपाली सेना सदैव तयारी अवस्थामा रहेको जानकारी समेत गराएका थिए ।
यस समन्वयात्मक बैठकको दौरान नेपाली सेनाका विभाग, महानिर्देशनालय, कोर र निर्देशनालयका प्रमुखहरु तथा कमाण्ड सेनापतिहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समिक्षा एवं सुझावहरु सहितको प्रस्तुतिकरण गर्ने कार्यक्रम रहेको छ । यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रिया पश्चात् प्राप्त हुने राय सुझावहरुले आगामी दिनहरुमा नेपाली सेनाको महत्वपूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्याउने विश्वास नेपाली सेनाले लिएको छ ।