काठमाडौं । नेपाली सेनाको ‘केन्द्रीय तहको प्रमुख सुवेदार र जेष्ठ सुवेदार समन्वयात्मक बैठक-२०७८’ सम्पन्न भएको छ । फागुन ९ गतेदेखि शुरु भएको दुई दिने बैठकको मंगलबार प्रधानसेनापति प्रभुराम शर्माको प्रमुख प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
सो अवसरमा प्रधानसेनापति शर्माले समन्वयात्मक बैठक नेपाली सेनाको एक महत्वपूर्ण तथा प्रतीक्षित कार्यक्रम रहेको बताउँदै प्रमुख सुवेदार र जेष्ठ सुवेदार भनेको नेपाली सेनाको मेरुदण्ड रहेको बताए । विल्लादार तथा जवानहरुलाई अभिभावकत्व प्रदान गर्ने प्रमुख दायित्व र जिम्मेवारी बोकेको व्यक्ति प्रमुख सुवेदार र ज्येष्ठ सुवेदार नै रहेको जानकारी गराउँदै उनले पद्धति र प्रणालीलाई थप सुदृढ, परिपक्व र दिगो बनाउन प्रमुख सुवेदार र सिनियर सुवेदारहरुको भूमिका महत्वपूर्ण हुने बताए ।
दुईदिने कार्यक्रमको शुभारम्भमा बलाधिकृत रथी बालकृष्ण कार्कीले आफ्नो स्वागत मन्तव्य राख्दैै प्रमुख सुवेदार र ज्येष्ठ सुवेदारहरुलाई अधिकृत तथा अन्य दर्जाहरुको बीचमा रहने सम्बन्धलाई अझ सहज र बलियो बनाउन विशेष भूमिका निर्वाह गर्न निर्देशन दिए ।
सोही क्रममा उनले समन्वयात्मक बैठकपछि सेनाभित्र रहेका विद्यमान समस्या, भावी चुनौती र त्यसका समाधानका उपायहरुमाथि थप छलफल र विवेचना गर्न सहज भई कार्यान्वयनको चरणमा पहलकदमी लिन सहायक सिद्ध हुने विश्वास व्यक्त गरेका थिए ।
समन्वयात्मक बैठकमा सहभागी प्रमुख सुवेदार र जेष्ठ सुवेदारहरुले संगठनभित्रका समस्या र चुनौती, कार्य समीक्षा, वर्तमान वस्तुस्थिति, पदिक तथा अन्यदर्जाको वृत्ति विकास तथा अवसर व्यवस्थापन, सुपथ मूल्य क्याण्टिनको प्रभावकारिता, मेश तथा बासस्थानको स्तरोन्नति एवं सुधार लगायतका विषयहरुमा छलफल गरी राय सुझाव प्रस्तुत गरेका थिए ।
कोभिड-१९ महामारीकाबीच आयोजना भएको उक्त बैठकमा स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालना गर्दै जंङ्गी अड्डालगायत नेपाली सेनाका विभिन्न फर्मेशन तथा युनिट-सव युनिटहरुबाट ५० जना प्रमुख सुवेदार र जेष्ठ सुवेदारहरुको सहभागिता रहेको थियो ।