भैरहवा । रुपन्देहीको सैनामैना नगरपालिका-६ का अपहरित दुई बालबालिकाको सकुशल उद्दार र आरोपीलाई नियन्त्रणमा लिएको प्रहरी टोली पुरस्कृत भएको छ ।
राम्रालाई पुरस्कार, खराबलाई दण्डको नीती अन्तर्गत लुम्बिनी प्रदेश प्रहरी कार्यालयले अपरेशनमा खटिएका रुपन्देहीका एसपी डा. मनोज कुमार केसीसहित १३ जना प्रहरीलाई नगद पुरस्कार सहित पुरस्कृत गरेको हो ।
नेपाल प्रहरीले उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कार र प्रहरी आचारणविरुद्ध काम गर्नेलाई कारवाही गर्दै आएको छ । प्रहरीका अनुसार गत बिहिवार (फागुन ५ गते) सैनामैना नगरपालिका-६ का १२ वर्षीय प्रशिद्द दाहाल र ९ वर्षीया प्रसन्न दाहाललाई सैनामैना नगरपालिका-५ का ३५ वर्षीय उनकै फूपाज खेम बहादुर पौडेलले अपहरण गरेका थिए ।
पारिवारिक रिसिबीका कारण भतिजा-भतिजीलाई फूपाजुले अपहरण गरेको प्राराम्भिक अनुसन्धानबाट खुलेको रुपन्देहीका एसपी डा. मनोज कुमार केसीले बताए ।
झापाको इप्रका अनारमनीको सहयोगमा प्रहरीले शुक्रवार बिर्तामोडबाट बालबालिकाहरुलाई सकुशल उद्दार र पौडेललाई नियन्त्रणमा लिएको थियो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी प्रमुख एसपी केसी, इप्रका बुटवलका डिएसपी ठग बहादुर केसी, इप्रका रन्यौराका इन्सपेक्टर जिवन लामिछाने, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसन्धान अधिकृत इन्सपेक्टर भाष्कर चन्द, इन्सपेक्टर बाबुराम बस्नेत, सई बेगम खनाल, असई मिलन जी.सी, मनिष थापा, राजकुमार वि.क, हवल्दार बिर बहादुर खड्का क्षेत्री, कृष्ण बहादुर कार्की, रामसकल अहिर र जवान सागर गोदार पुरस्कृत गरेको प्रहरीले जनाएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्टमा सलमान खानले लेखेका छन् ।