काठमाडौं । महानगरीय अपराध महाशाखाले अस्पताल र प्रयोगशालाहरुले विचौलियासँग मिलेर कोभिड-१९ परीक्षणको नक्कली पीसीआर रिपोर्ट बनाइदिने र त्यसबापत चर्को शुल्क लिने ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विदेह नगरपालिका-४ धनुषाका रोशनकुमार छिट्टान, छिरेश्वर नगरपालिका-१ धनुषाका नागेन्द्र यादव, तेमाल गाउँपालिका-५ काभ्रेका माधव मैनाली र बलरा नगरपालिका-७ सर्लाहीका प्रसन्नकुमार झा छन् । त्यस्तै राजदेवी नगरपालिका-४ रौतहटका भावेश मित्र र काठमाडौं महानगरपालिका-३२ का निर्मल गिरी भने फरार छन् ।
भक्तपुरको मध्युपर थिमीस्थित नागरिक कम्युनिटी टिचिङ अस्पताल र काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पतालबाट नक्कली पीसीआर रिपोर्ट बनाएको अभियोगमा त्यहाँका कर्मचारी र केही विचौलिया पक्राउ परेका महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए ।
उनका अनुसार आरोपित प्रसन्नकुमार झा नागरिक कम्युनिटी टिचिङ अस्पतालका ल्याब प्रबन्धक हुन् । भावेश मिश्र नागरिक कम्युनिटी टिचिङका पीसीआर ल्याब सञ्चालक र निर्मल गिरी कान्तिपुर अस्पतालका पीसीआर ल्याब सञ्चालक हुन् ।
प्रहरीले उनीहरूको साथबाट पीसीआर रिपोर्ट नेगेटिभ बनाउने कम्प्युटर मनिटर, ल्यापटप, सीपीयु, नक्कली पीसीआर रिपोर्ट र मोबाइलगायत सामग्रीसमेत बरामद गरेको छ ।
प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका कुराहरुः
१) उल्लेखित अस्पतालका ल्याबहरुले कतिपय व्यक्तिको स्वाब र परीक्षण बिनै नेगेटिभ PCR रिपोर्ट दिने गरेको ।
२) उक्त ल्याबहरुमा कार्यरत भनिएका बिशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी आफ्नो Digital Signature प्रयोग गरि रिपोर्ट दिने गरेको ।
३) कतिपय पिसिआर पोजेटिभ देखिएका स्याम्पलहरुको CT Value तलमाथि गरि नेगेटिभ रिपोर्ट दिने गरेको तथा पिसिआर रिपोर्टको मिति समेत तलमाथि गरी रिपोर्ट दिने गरेको भन्ने खुल्न आएको ।
४) उल्लेखित अस्पतालहरुले केहि बिचौलियाहरुलाई अस्पतालको कर्मचारी भनि परिचयपत्र समेत बनाई दिई सामुहिक स्वाब संकलन गर्न प्रयोग गर्ने गरेको ।
५) सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाब बिनै बिचौलियाहरुले आफैले आफ्नै स्वाव संकलन गरि बिभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले सहजै पिसिआर रिपोर्ट उपलब्ध गराउने गरेको ।
६) बिचौलिया र ल्याबका कर्मचारी एवं व्यबस्थापनको मिलेमतोमा बिदेश जाने व्यक्तिहरुलाई PCR रिपोर्ट Negative बनाइदिने भनि प्रति व्यक्ति रु. १० हजार सम्म असुल गरेको भेटिएको ।
७) QR Code बाट Scan गरी हेर्ने मिल्ने गरी सक्कली जस्तै Report बनाउने गरेको पाईएको ।