काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड-१९ को प्रभाव र प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरेका छन् ।
गृहमन्त्री खाणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहटका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरी जिल्लाको वस्तुस्थितिबारे जानकारी लिएका हुन् ।
उनले मुख्यगरी प्रहरीमा र समग्र जिल्लामा कोभिड-१९ को प्रभाव, शीतलहर र हिमपातको अवस्था, जिल्लामा सुरक्षा स्थिति, प्रहरीलाई सरकारले उपलब्ध गराउने रासन भत्ता वितरण बारेमा जानकारी लिएको प्रहरी प्रमुखले जानकारी दिएका छन् ।
सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले मन्त्री खाणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीको रासन भत्ता शीत लहरको प्रभाव र न्यानो कपडा वितरणबारे जानकारी लिनुभएको बताए । सप्तरीका प्रहरी प्रमुख अविनारायण काफ्लेले जिल्लामा शान्ति सुरक्षाको अवस्थाबारे गृहमन्त्रीले जानकारी लिनुभएको बताए ।
‘जिल्लामा शान्ति सुरक्षाको अवस्था, कोभिड-१९ को अवस्था र प्रहरीको रासन भत्ताबारे मन्त्रीले जानकारी लिनुभयो’, उपरीक्षक काफ्लेले भने ।-रासस