काठमाडौं । महानगरीय अपराध महाशाखाले भारतबाट अवैद्य रुपमा मदिरा भित्र्याएर काठमाडौं उपत्यकामा कारोबार गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको गादी घर भई काठमाडौंको बुढानीलकण्ठ क्षेत्रमा बस्ने चन्द्र बख्रेल, काठमाडौंको कागेश्वरीमनहरा नगरपालिका-६ का ३० वर्षीय शैलेश पन्त, पर्साको सुवर्णपुर घर भई काठमाडौंको हाँडीगाउँ बस्ने २८ वर्षीय रविन पाख्रीन र सर्लाहीको बरहथवा नगरपालिका-९ घर भई चाबाहिल बस्दै आएका ३८ वर्षीय नारायणप्रसाद घिमिरे रहेका छन् ।
भारतबाट रेडलेबल, एब्सुलेट भोडका, चिभास रेगल लगायतका मदिरा चोरी पैठारी गरी नेपाल ल्याएर कारोबार गर्ने गरेको विशेष सूचनाको आधारमा काठमाडौंको बानेश्वर, कपन, रामकोट लगायतका स्थानबाट २९६ कार्टुन मदिरा बरामद भएको महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए । महाशाखाले ‘अप्रेसन लिमा’ चलाएर कारबाही थालेको उनले बताए ।
बरामद भएका मदिराको गुणस्तर परीक्षणका लागि अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ । बरामद गरिएका मदिराको बजार मूल्य करिब एक करोड पचार लाख बराबर रहेको एसएसपी कुँवरले जानकारी दिए ।
यस्ता छन् प्रहरी अनुसन्धानबाट खुल्न आएका कुराहरुः-
१) रवि भन्ने भारतिय नागरिक र नेपाली नागरिक सन्तोष चन्द्र बख्रेलको योजनामा भारतबाट राजश्व छली गरी विभिन्न ब्राण्डका मदिराहरू विक्रि वितरण गरेको ।
२) सन्तोष चन्द्र बख्रेलले विगत ३ महिना अगावै प्रथम पटक १६० कार्टुन, दोस्रो पटक २०० कार्टुन र तेस्रो पटक ३०० कार्टुन ब्ल्याक लेवल, रेड लेवल, चिभास रिगल र ऐब्सुलेट भोड्का ल्याई गैर कानुनी रुपमा विक्रि वितरण गरेको ।
३) सन्तोष चन्द्र बख्रेलले बजारमा विक्रि वितरण गर्न ईन्फिनिटि लिक्योर, मुलपानीका संचालक शैलेश पन्तसंग मिलेर काम गर्दै आएको
४) नारायण प्रसाद घिमिरेले उक्त ब्राण्डका मदिराहरू डिउटी फ्रीको हो भनि ग्राहकलाई विश्वास दिलाई विक्रि गर्दै आएको ।
५) उक्त राजश्व छलिका मदिराहरू विशेषतः पाटी प्यालेसमा विक्रि वितरण गर्ने गरेको ।