काठमाडौं । सशस्त्र प्रहरी बलका आईजी शैलेन्द्र खनालले जाँदाजाँदै बन्दोबस्तीका सामान सेटिङमा खरिद गर्नका लागि स्पेसिफिकेसन माग गर्न लगाएका छन् । २०७८ चैत २८ मा अवकाश हुने उनको मुस्किलले २ महिना पनि जागिर अवधि बाँकी छैन । चालु आर्थिक बर्षको बजेट आफू हुँदै बन्दोबस्तीका सामान खरिद गर्ने र जाँदाजाँदै कुस्त कमाउनेतिर उनी केन्द्रित भएका छन् ।
सामान खरिदका लागि आईजी खनालले आर्थिक प्रशासन महाशाखाका प्रमुख दीपेन्द्र शाह र केन्द्रीय लेखाका इन्स्पेक्टर गणेशबहादुर मल्लमार्फत् स्पेसिफिकेसन माग गरेका छन् । आईजी खनालको निर्देशनमा शाह र मल्लले सामान खरिदको लागि टेण्डर नगरे पनि स्पेक माग गरेका छन् । स्पेक मागी जुन कम्पनीले बढी पैसा घुस दिने कबोल गर्छ, सोही कम्पनीलाई मात्र पर्नेगरी टेण्डर गर्ने तयारीमा आईजी खनाल र आर्थिक महाशाखा प्रमुख शाह छन् ।
यसपटकको ठेक्का सेटिङमा लिनका लागि सशस्त्रका पूर्वडीआइजी चिरन्जीवी अधिकारी नै लागेका छन् । अधिकारीले सशस्त्रको आर्थिक प्रशासन प्रमुखका रुपमा लामै समय काम गरेका थिए । उनले आर्थिक प्रशासन महाशाखाको प्रमुख हुँदै जेठीसासुको नाममा कम्पनी खोली सशस्त्रमा ठेक्का दिने गरेका थिए । स्रोतका अनुसार अवकाशपछि उनी सशस्त्रमा सामान आपूर्ति गर्ने ठेक्कापट्टामा पूर्णतया लागेका छन् ।
हालका आर्थिक प्रशासन प्रमुख दीपेन्द्र शाहलाई ककनी तालिम केन्द्रमा तालिम दिने गुरुबा समेत भएकाले चिरन्जीवी अधिकारीलाई बन्दोबस्तीका सामानदेखि सबै खालका ठेक्का लिन सहज भएको छ । एसएसपी दीपेन्द्र शाह र इन्स्पेक्टर गणेश मल्लले चिरन्जीवी अधिकारीको कम्पनीलाई काँडेतार(कन्सर्टिना वायर)को २० लाखका दरले ठेक्का दिने तयारी गरेका छन् ।
कन्सर्टिना वायर हेडक्वाटरबाट सोझै खरिद नगरी गणमा बजेट पठाउने र त्यहाँबाट किनेको देखाउने गरी मिलाइएको छ । सशस्त्र मुख्यालयको आर्थिक प्रशासनमा सेटिङ मिलाई गणमा बजेट पठाई चिरन्जीवी अधिकारीको कम्पनीलाई ५० लाख रुपैयाँको कन्सर्टिना वायरको ठेक्का दिने अन्तिम तयारी भइरहेको छ । झट्ट हेर्दा गणबाट खरिद भएको देखिए पनि सेटिङ सशस्त्र मुख्यालय हल्चोकको आर्थिक प्रशासन महाशाखा प्रमुख दीपेन्द्र शाह र गणेश मल्लले नै गरेको स्रोत बताउँछ ।
यसैबीच, आईजी शैलेन्द्र खनालले जाँदाजाँदा ३७ हजार सेट ट्रयाकसुट खरिद गर्नका लागि मनोज भारती नामका ठेकेदारलाई दिइसकेका छन् । सशस्त्र प्रहरी सम्बद्ध स्रोतका अनुसार भारतीले ठेक्का पाएको र उनले दिने गुणस्तरको ट्रयाकसुट प्रतिस्पर्धाबाट खरिद गर्दा बढीमा ९ सय रुपैयाँ पर्छ । तर प्रतिसेट १ हजार ६ सय रुपैयाँमा ट्रयाकसुट खरिद गर्न लागिएको छ । लगभग दोब्बर नै रेट बढाएर भारतीबाट घुस लिनेगरी ट्रयाकसुट तयार गर्न दिइएको छ । विनाप्रतिस्पर्धा भारतीलाई ट्रयाकसुट ठेक्का दिएका शाह र मल्लले तालिम लिनेहरुले पानी बोक्ने तुम्लेट, छात्तीमा लगाउने सुरक्षाकबच लगायतका अरु सामान समेत खरिद गर्न लागिएको छ । सशस्त्रमा रहेको बजेटसमेत खनालले आफू हुँदै खरिद गरी सक्नेगरी यस्तो तारतम्य मिलाएका छन् ।
गणेश मल्ल र दीपेन्द्र शाहले यसअघि पनि मनोज भारतीको फिटवेल गार्मेन्ट सीतापाइलाबाट मात्रै करोडौंको सामान विनाटेण्डर खरिद गरेका थिए । भारतीले सशस्त्र मुख्यालय हल्चोकअगाडि पेट्रोल पम्प भएको भवनमा भब्य बन्दोबस्तीका सामानको पसल खोलेका छन् । सशस्त्र मुख्यालयअगाडिको सटर निःशुल्क जस्तो कब्जा गरी पसल राखेका उनले ट्रयाकसुट खरिदको जिम्मा पाएका छन् ।
भारतीले गृहमन्त्रालयमा लामै समय काम गरेका र केही समयअघि अवकाश पाएका आईजी खनालका समेत ससुराली नाता पर्ने पूर्व सहसचिव प्रदीपराज कँडेलमार्फत् सशस्त्रमा कोटेसेनमा करोडौंको सामान सप्लाई गर्न सफल हुँदैआएका छन् । कोरोना महामारीदेखि उनले सशस्त्रमा पीपीई, मास्क लगायतका सामान समेत मनपरी मूल्य राखी कोटेसनमा आपूर्ति गरेका छन् । जसको छानबिन समेत अख्तियार लगायत सरोकारवाला निकायबाट भएको छैन ।
त्यसैगरी, बझाङका किशोर मल्ललाई पनि फायर कन्ट्रोल, तुम्लेट जस्ता सामान पनि गणेश मल्लले कोटेसनमा दिंदैआएका छन् । टेण्डर निकाल्दा प्रतिस्पर्धा हुने र कमिशन कम आउने भएपछि सार्वजनिक खरिद ऐन नियम छल्नकै लागि लेखाका इन्स्पेक्टर गणेश मल्लले टुक्रा पार्दै कोटेसनका आधारमा लिने गरेका छन् । - नेपाल फेस डटकमबाट