काठमाडौं । रौतहट, ईलाम, पाँचथर, पाल्पा, पर्सा, कञ्चनपुर, झापा र धादिङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार रौतहट गरुडा नगरपालिका-४ गरुडा गाउँस्थित सडकमा ना.६२ प ३३९९ नम्बरको मटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १९ वर्षीय महमद अलताफ आलम र २५ वर्षीय रवि साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको लागि झाझपुलस्थित ग्राण्डी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यसैगरी ईलाम रोङ गाउँपालिका-४ पहिरोस्थित सडकमा प्रदेश १-०१-००१ च ७९१६ नम्बरको पिकअप गाडी अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा गाडीमा सवार झापा मेचिनगर नगरपालिका-४ बस्ने ५५ वर्षीय रमेश थापा र ४० वर्षीय सूर्य बहादुर थापाको घट्नास्थलमै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका गाडीका चालकलाई उपचारको लागि बिएण्डसी अस्पताल झापातर्फ पठाइएको छ ।
यसैगरी पाँचथर मिक्लाजुङ गाउँपालिका-१ फुङसिङस्थित सडकमा प्रदेश १-०१-००१ त ८५९५ नम्बरको ट्याक्टर बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक ईलाम माङसेबुङ गाउँपालिका-३ बस्ने २१ वर्षीय रविन लिम्बुको घटनास्थलमै मृत्यु भएको छ ।
यसैगरी पाल्पा तानसेन नगरपालिका-६ वर्तुङचोकस्थित सडकमा लु.३ त ४६१५ नम्बरको ट्याङ्करमा लु.४४ प १६१९ नम्बरको स्कुटर ठोक्किएर बुधबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार माथागढी गाउँपालिका-३ सराय बस्ने ५५ वर्षीया कान्तीसरा गाहाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी पर्सा सखुवाप्रसौनी गाउँपालिका-२ लक्ष्मीपुरस्थित सडकमा प्रदेश २-०३-००१ ख २१६३ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री पर्सागढी नगरपालिका-१ घटनीटोल बस्ने ४५ वर्षीय तुरन चौधरीको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी कञ्चनपुर पुनर्वास नगरपालिका-३ माईली बजारस्थित सडकमा लु.२ स ००८१ नम्बरको अटो रिक्सा र से.१ प ७६४४ नम्बरको मटरसाइकल एक-आपसमा ठोक्किएर बुधबार दिउँसो दुर्घटना हुँदा अटो चालक सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र मिजारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार र मोटरसाइकल चालक समेत गरी ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी झापा मेचीनगर नगरपालिका-७ स्थित सडकमा मे.१ झ १७२ नम्बरको गाडीले मे.९ प ७९२७ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३५ वर्षीय सन्तोष राजबंशीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी धादिङ धुनिबेशी नगरपालिका-६ चालिसेस्थित सडकमा ग.१ ख ४३३८ नम्बरको हाईसको ठक्करबाट पैदलयात्री उदयपुर वेलका नगरपालिका बस्ने ४२ वर्षीय दुर्गा घिमिरेको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।