काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को चौतर्फी संक्रमण बढेसँगै सुरक्षाकर्मीमा संक्रमित हुनेको संख्या बढ्दै गएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरतमध्ये एक हजार ७२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापनको काममा सुरक्षाकर्मीहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा खटिँदै आएका छन् ।
चारवटा सुरक्षा निकायमध्ये पहिलो पंक्तिमा खटिने नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्मीमा सबैभन्दा बढी ९५५ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार संक्रमितमध्ये ६० जनालाई विभिन्न अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ । नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विष्णुकुमार केसीले कोरोना संक्रमितको संख्या बढेको र संक्रमितहरूमा जटिल स्वास्थ्य समस्या भने नदेखिएको जानकारी दिए ।
नेपाली सेनामा कार्यरतमध्ये ४१० जनामा संक्रमण देखिएको छ । जसमध्ये ४० जनाको अस्पतालमा उपचार भइरहेको छ भने अन्य संक्रमितलाई आइसोलेसनमा राखिएको छ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले संक्रमितमध्ये आठ जनालाई ‘हाई डिपेन्डेन्सी युनिट’ (आईसीयू)मा राखेर उपचार भइरहेको जानकारी दिए । सेनाले मातहतका सुरक्षाकर्मीलाई सरकारको निर्देशन र विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पूर्वसतर्कता र उपचार पद्धति अपनाएको जनाएको छ ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपालमा कार्यरत २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठले संक्रमितलाई विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा राखेर उपचार भइरहेको जानकारी दिए । प्रवक्ता श्रेष्ठले संक्रमितमध्ये अहिलेसम्म कसैलाई पनि जटिल स्वास्थ्य समस्या भने नदेखिएको जानकारी दिए ।
राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभागले संक्रमितहरूलाई चिकित्सकको निगरानीमा उपचार भइरहेको जनाएको छ । गोरखापत्र दैनिकबाट साभार ।