काठमाडौं । नवलपरासीपूर्व, रौतहट, बाँके, चितवन, धनुषा र रुपन्देहीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार नवलपरासीपूर्व हुप्सेकोट गाउँपालिका-४ मार्फाटाँडीस्थित सडकमा ना.५ च २६९५ नम्बरको पिक अप गाडीको ठक्करबाट सोही ठाउँ बस्ने ५० वर्षीया छु माया मश्रांगीको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको मनकामना अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै सोही गाडीको ठक्करबाट घाइते भएका अन्य १४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी रौतहट राजपुर नगरपालिका-२ हजमिनियास्थित सडकमा प्रदेश २ ०३-०१७ प ९९०३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक यमुनामाई गाउँपालिका-१ जेठरैया बस्ने २५ वर्षीय रबिन्द्र बैठाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी बाँके कोहलपुर नगरपालिका-१४ पार्वतीपुरस्थित सडकमा भे.१ क १९९९ नम्बरको टिपरको ठक्करबाट नेपालगंज उपमहानगरपालिका-७ बस्ने ३५ वर्षीय त्रिलोक केसीको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी चितवन भरतपुर महानगरपालिका-१७ स्थित सडकमा ना.४४ प ६९१७ नम्बरको स्कुटर आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा स्कुटर चालक सर्लाही घर भएका १८ वर्षीय अभिषेक राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी धनुषा क्षिरेश्वरनाथ नगरपालिका-४ कुम्रौल चोकस्थित सडकमा बा. ४४ प ८८३१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार लक्ष्मिनिया गाउँपालिका- ५ बस्ने ४० वर्षीय कमलु ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यसैगरी रुपन्देही सिद्धार्थनगर नगरपालिका-३ सखुलीपथस्थित सडकमा प्रदेश ३-०२-०१२ प ८२५४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक सिद्धार्थनगर नगरपालिका-१३ बस्ने २७ वर्षीय प्रतिक शाहीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।