काठमाडौं । महोत्तरी, कञ्चनपुर, सप्तरी, पर्सा र दाङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार महोत्तरी बर्दिवास नगरपालिका-५ जंगा पुलस्थित सडकमा ज.६ प ८३४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक सर्लाही भक्तिपुर नगरपालिका-४ घर भएका ४८ वर्षीय भुवन प्रसाद उपाध्यायको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभ स्वस्तिक अस्पताल बर्दिवासमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी महोत्तरी मनराशिष्वा नगरपालिका-२ स्थित सडकमा प्र.२-०२-००१ प ०९२४ र प्र.०२-०३-००३ प ३६५० नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर शनिबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा दुवै मोटरसाइकलको चालक सर्लाही चन्द्रनगर नगरपालिका-७ घर भएको ३३ वर्षीय अजय साह र महोत्तरी मनराशिष्वा नगरपालिका-५ बस्ने ३८ वर्षीय रोशन ठाकुर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी कञ्चनपुर लालझाडी गाउँपालिका-६ चाँददेउस्थित सडकमा रोकी राखेको रा.१ त ८९९ को ट्याक्टरमा से.६ प ३९६३ नम्बरको मोटरसाइकल ठोक्किएर शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक बेलौरी नगरपालिका-९ मतपुरे बस्ने २६ वर्षीय दिप्पु चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ईसान मेमोरियल अस्पताल बेलौरी हुँदै कैलाली प्रालि अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी सप्तरी सप्तकोशी नगरपालिका-४ तुलसी टोलमा को.२२ प १५५८ नम्बरको मोटरसाइकल र स.५ प ३११८ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर शनिबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा दुबै मोटरसाइकल चालक कंचनरुप नगरपालिका-७ बस्ने ३५ वर्षीय शुभास बस्नेत र उदयपुर चौदण्डिगढी नगरपालिका-९ भिमा टोल बस्ने २८ वर्षीय हरि शंकर चौधरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको भारदह अस्पताल भारदह हुँदै थप उपचारको लागि गोल्डेन अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य ४ जनाको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।
यसैगरी पर्सा ठोरी गाउँपालिका-३ रामनगरमा ना.६३ प ७४२६ नम्बरको मोटरसाइकल र बा.२७ प १६४ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर शनिबार साँझ दुर्घटना हुँदा ना.६३ प ७४२६ नम्बरको मोटरसाइकल चालक पोखरीया नागरपालिका-२ बस्ने १८ वर्षीय संतोष पटेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ३ जनाको नारायणी अस्पताल वीरगंज हुँदै थप उपचारको लागि न्युरो अस्पताल वीरगंज रिफर गरिएको छ ।
यसैगरी दाङ राप्ती गाउँपालिका-५ लठुवामा लु.१ ख ९६४७ नम्बरको मिनी ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक सहित फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।