झापा । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले राज्यले सुम्पिएको दायित्वलाई प्रहरी कर्मचारीहरूले इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाको मंगलबार निरीक्षण भ्रमण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताएका हुन् ।
निर्देशनको क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले हरेक प्रहरी कर्मचारीले आपसमा भाइचारा सम्बन्धको विकास गर्नुपर्ने बताए । प्रहरी कर्मचारीहरूले आ-आफ्नो दायित्व कुशलतापूर्वक निर्वाह गरेको खण्डमा संगठनको छवि उच्च हुने उल्लेख गर्दै उनले भने, “संगठनको छवि प्रहरीले गर्ने काममा निर्भर गर्दछ । जति राम्रो काम गर्यो त्यति संगठनको छवि राम्रो हुन्छ ।”
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले महिला बालबालिका तथा जेष्ठ नागरिकहरूलाई केन्द्रविन्दुमा राखेर काम गर्न निर्देशन दिँदै प्रहरीसँग सम्बन्धित हरेक कामको सुनुवाई राम्रोसँग गर्नुपर्ने उल्लेख गरे । प्रहरी कर्मचारीले आफ्नो कार्यालय र परिवारलाई सँगसँगै व्यवस्थापन गर्नुपर्ने चर्चा गर्दै उनले भने, “जसले परिवारलाई राम्रो व्यवस्थापन गर्न सक्छ उसले कार्यालयको व्यवस्थापन पनि राम्रो गर्न सक्छ ।”
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सीमावर्ती क्षेत्रमा हुने अपराध नियन्त्रणमा केन्द्रीत भई काम गर्नुपर्ने उल्लेख गर्दै हिरासतमा भएका थुनुवाहरूको सुरक्षामा समेत ध्यान दिनुपर्ने बताए । सम्पूर्ण प्रहरी कर्मचारीहरूबाट पूर्ण व्यावसायिकताको अपेक्षा गरिएको उनले उल्लेख गरे ।
उक्त अवसरमा एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसी, प्रहरी प्रधान कार्यालयका प्रहरी नायव महानिरीक्षक ईश्वरबाबु कार्कीको साथै संघीय प्रहरी इकाई कार्यालय धरान र एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरीका कार्यालय प्रमुखहरूको समेत उपस्थिति रहेको थियो ।