सप्तरी । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजमा नवनिर्मित महिला आवास गृह, कक्षाकोठा तथा अतिथि गृह भवनहरूको सोमबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।
सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भवन निर्माण कार्यमा विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने इन्जीनियर तथा प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र वितरण समेत गरे ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिदै समाजसेवामा आवद्ध नेपाल प्रहरी संगठनमा आएर नागरिकको हरेक समस्या समाधानको लागि हर-हमेसा साथ र सहयोग गर्नुपर्ने बताए । साथै उनले भवन निर्माण कार्यमा आ-आफ्नो क्षेत्रबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउने सम्बन्धित सबैलाई धन्यवाद दिए ।
कार्यक्रममा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश रंजितकारले धन्यवाद ज्ञापन गरेका थिए भने उक्त तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
Modernization and Improvement of Policing Project (MIPP) परियोजना अन्तर्गत UNOPS को सहयोगमा करिब १५ करोड रुपैयाँको लागतमा उक्त भवनहरू नवनिर्माण गरिएको हो ।
कार्यक्रममा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा समितिका पदाधिकारीहरू, UNOPS बाट प्रोजेक्ट म्यानेजर कोमल कार्की, जिल्लास्थित स्थानीय तहका पदाधिकारीहरू र संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।