काठमाडौं । गुल्मी, धनुषा, तनहुँ, कपिलवस्तु र सर्लाहीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गुल्मी दरबार गाउँपालिका-४ बिरबासस्थित सडकमा बिरबासदेखि भेडुवातर्फ जाँदै गरेको लु.१७ प ६४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका बिरबास बाख्रे बस्ने ३० वर्षीय पदम ढेगाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गुल्मीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
यसैगरी धनुषा मिथिला नगरपालिका-७ ढल्केवरस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-८ जमुनिवास बस्ने २८ वर्षीय तुलसी आले मगरको बिहीबार घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी तनहुँ भिमाद नगरपालिका-६ सिमबोटस्थित सडकमा पार्किङ गरी राखेको ग.१ त ३७६९ नम्बरको ट्याक्टरमा बा.१५ प ४०९३ नम्बरको मोटरसाइकल ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक ऋषिङ गाउँपालिका-७ घर भई हाल भिमाद नगरपालिका-६ डेरा गरी बस्ने २६ वर्षीय प्रकाश रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भिमादमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी कपिलवस्तु कपिलवस्तु नगरपालिका-२ स्थित सडकमा लु.८० प ८१८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका सागर टोल बस्ने ३५ वर्षीय मनोज लम्सालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी सर्लाही बरहथवा नगरपालिका-९ सोल्टी गेट नजिक बरहथवाबाट नयाँरोडतर्फ जाँदै गरेको बा.९७ प ६२३९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-५ बस्ने १८ वर्षीय चन्दन कुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भेनस अस्पताल बरहथवा हुँदै थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको भेनस अस्पताल बरहथवामा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।