काठमाडौं । ईलाम, सिम्धुली, ललितपुर र मकवानपुरका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
यसैगरी ईलाम सूर्योदय नगरपालिका-७ सुखेपोखरीस्थित सडकमा मे.१ ज ३३०७ नम्बरको मारुती भेन मंगलबार दिउँसो दुर्घटना हुँदा भ्यानमा सवार माईजोमाई गाउँपालिका बस्ने ७६ वर्षीय राम प्रसाद तिमल्सिना समेत २ जनाको मृत्यु भएको छ । कुटीडाँडाबाट ईलामतर्फ जाँदै गरेको उक्त भेन अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनीहरुको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै अन्य ७ जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ । भेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सिन्धुली सुनकोशी गाउँपालिका-१ बलुवास्थित सडकमा बा.प्र.०२-०३० प ८६५६ नम्बरको मोटरसाइकल र ना.१ ज ६२६४ नम्बरको सुमो मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक रामेछाप मन्थली नगरपालिका-१३ फुलासी बस्ने ३५ वर्षीय रोशन बर्देवाको मृत्यु भएको छ । दुवै सवारी साधन एकआपसमा ठक्कर खाई भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको घुलिखेल अस्पताल काभ्रेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार रामेछाप मन्थली नगरपालिका-१३ फुलासी बस्ने २० वर्षीया मन्जु मगरको सोही अस्पतालमा उपचार भइरहेको छ । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सिन्धुली तिनपाटन गाउँपालिका-५ तल्लो पचरङगमा लु.अ.अ.भ.१७४८ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-११ परासे बस्ने ३३ वर्षीया सरिता मगरातीको मंगलबार दिउँसो मृत्यु भएको छ । चकमकेबाट शाखामाडीतर्फ जाँदै गरेको उक्त ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र लाङपाङटार हुँदै थप उपचारको लागि सिन्धुलीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी ललितपुर ललितपुर महानगरपालिका-२६ सुनाकोठी चिवहालमा ना.७ त ५०२ नम्बरको ट्याक्टर र प्रदेश नम्बर ३-०२-००७ प ४३९४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक गोदावरी नगरपालिका-११ चापागाउँ बस्ने १७ वर्षीय रोहन पुजारीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पताल लगनखेलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार गोदावरी नगरपालिका-१२ बस्ने १८ वर्षीय अनिल दर्जीको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ दारिमटारमा बागमती प्रदेश ०३-००१ ख १८४९ नम्बरको टिपरले ना.४९ प ८२५२ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक चितवन रत्ननगर बस्ने ४० वर्षीय युवराज आचार्यको घाटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार बागलुङ जैवनी बस्ने ३३ वर्षीय नुर बहादुर थापालाई उपचारको लागि चहुरेहिल अस्पताल हेटौंडातर्फ पठाइएको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।