काठमाडौं । सिन्धुपाल्चोक, झापा, धादिङ, काभ्रे र सिरहाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सिन्धुपाल्चोक बलेफी गाउँपालिका-४ बिन्जेलस्थित भित्री सडकमा बा.२ ख ५६१४ नम्बरको बस अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा बस चालक बलेफी गाउँपालिका-६ बस्ने ३५ वर्षीय राजु तामाङको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका बसमा सवार २५ जनालाई उपचारको लागि धुलिखेल अस्पतालतर्फ पठाइएको छ ।
यसैगरी झापा बिर्तामोड नगरपालिका-२ निधी कलेज नजिक भित्री सडकमा बा.१९ च ४०५ नम्बरको कार र ना.२० प २१८८ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका-११ बस्ने ५० वर्षीय नगेन्द्र भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी धादिङ गजुरी गाउँपालिका-२ स्थित सडकमा बा.६३ प ४८३४ नम्बरको स्कुटर र बा.४४ प ९८३६ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई उक्त मोटरसाइकललाई ना.६ ख ७४९ नम्बरको ट्रकले समेत ठक्कर दिँदा मोटरसाइकल चालक बेनिघाट रोराङ गाउँपालिका-१० बस्ने ३३ वर्षीय सुक बहादुर चेपाङको शनिबार राति घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका स्कुटरमा सवार २ जना गजुरी अस्पतालमा सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी काभ्रे बनेपा नगरपालिका-७ उग्रचण्डी होटल अगाडि सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री रोसी गाउँपालिका-४ बस्ने ३७ वर्षीय चतुरमान तामाङको शनिबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी सिरहा धनगढीमाई नगरपालिका-९ मुसर्नियास्थित सडकमा सडक निर्माण गर्दै गरेको नम्बर नभएको लोडर ब्याक गर्ने क्रममा लोडरले किच्दा सोही ठाउँ बस्ने सन्दिप मोक्तानको छोरा ९ वर्षीय सिद्धार्थ मोक्तानको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । लोडर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सिरहा, लहान नगरपालिका-११ पडरिया चोक नजिक सडकमा स.१० प ८१७५ नम्बरको मोटरसाइकल र प्र.२-०१-००३ प ३३३६ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा स.१० प ८१७५ नम्बरको मोटरसाइकल चालक कल्याणपुर नगरपालिका-१२ बस्ने ४६ वर्षीय मो.गधारे राईमको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका प्र.२-०१-००३ प ३३३६ नम्बरको मोटरसाइकलमा सवार चालक सहित २ जनाको माँ धमिनी अस्पताल लाहानमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।