काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालय परिसरभित्र नवनिर्मित कार्यालय भवन बुधबार आयोजित कार्यक्रमबीच उद्घाटन गरे । साथै उनले उक्त भवन तथा कार्यालय कक्षहरुको निरीक्षण समेत गरे ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भवन निर्माण कार्यमा सहयोग पुर्याउने तुलसीभक्त कन्स्ट्रक्सन प्रालिका नवराज श्रेष्ठ तथा प्रहरी नायव उपरीक्षकद्वय सुन्दर लाखे र रोशन सारुलाई प्रशंसापत्र समेत प्रदान गरे ।
सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नवनिर्मित भवन आधुनिक तथा प्रविधियुक्त भएको चर्चा गर्दै भवन निर्माणमा प्रत्यक्ष एवं अप्रत्यक्ष योगदान पुर्याउने व्यक्तिहरूप्रति आभार प्रकट गरे । भवन प्राप्तीसँगै प्रहरीको कार्य सम्पादनमा पनि स्तर वृद्धि हुनुपर्नेमा उनले जोड दिए । नवनिर्मित कार्यालय भवनमा कार्यरत रहने प्रहरी कर्मचारीहरूले भवनको उपयोग हुनेगरी कार्यसम्पादन गर्नुका साथै त्यसको आवश्यक मर्मत सम्भार एवं जगेर्नाको लागि क्रियाशील रहन उनले निर्देशन दिए ।
कार्यक्रममा प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी उपरीक्षक ई. रामकुमार चौधरीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै नेपाल प्रहरीको नियमित बजेटबाट निर्मित ४ तले उक्त भवन कूल १६ करोड १९ लाख ६३ हजार ६ सय ३० रुपैयाँ ९२ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको जानकारी दिए ।
प्रहरी प्रधान कार्यालय परिसरलाई आधुनिक एवम् व्यवस्थित बनाउनुका साथै सुरक्षित सेवा प्रवाह गर्ने हेतूले थप भौतिक पूर्वाधारहरु निर्माण गरिएको हो । नियो क्लासिकल डिजाईन प्ल्याटफर्ममा आधारित रही तयार गरिएको उक्त भवन भूकम्प प्रतिरोधात्मक संरचनामा रहेको छ । नवनिर्मित भवनमा प्रहरी निरीक्षणालय, सवारी महाशाखा, संचार निर्देशनालय, अन्वेषण योजना तथा विकास निर्देशनालय, सुरक्षा सेवा व्यवस्थापन महाशाखा, प्रशासन महाशाखा लगायतका कार्यालयहरुबाट कार्य संचालन भइरहेको छ ।
उक्त कार्यालय भवनको वेसमेन्टमा २ वटा स्टोर रुमहरूको व्यवस्थापन सँगै दुई पाङ्ग्रे सवारी साधन पार्किङको व्यवस्था रहेको छ । वेसमेन्ट बाहेकको ४५ हजार ४ सय १३ वर्गफिटमा फैलिएको उक्त भवनमा कूल १ सय ४ वटा कार्यकक्षहरू, २० वटा शौचालय, ५ वटा चेन्जिङ रुम, ४ वटा स्टोर रुम, ११ वटा बैठक कक्ष र तालिम सञ्चालनको लागि २ वटा कक्षा कोठा रहेका छन् ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, राष्ट्रिय वाणिज्य बैंकका उच्च पदस्थ अधिकृत एवम् वरिष्ठ प्रहरी अधिकृत तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।