काठमाडौं । काठमाडौ उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरेर बिक्री वितरण गर्ने गिरोहलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले काठमाडौंका बिभिन्न स्थानमा विशेष अपरेसन संचालन गरि मोटरसाइकल चोरी गर्ने, डिस्मेण्टल गर्ने र बिक्रि बितरण गर्ने समूहका ७ जनालाई पक्राउ गरेको हो ।
टोलीले रौतहट चन्द्रनिगाहापुर ९ सन्तपुर घर भई हाल किर्तिपुर बस्ने बर्ष १९ को नर कुमार पुडासैनीलाई गत बर्षको माघमा बानेश्वरबाट हराएको प्र३-०२-०१३प३६६० नम्बरको २२० सिसिको पल्सर मोटरसाइकलको नम्बर परिबर्तन गरि चलाईरहेको अबस्थामा पशुपति क्षेत्रबाट पक्राउ गरेका हो ।
थप अनुसन्धानको क्रममा न्युरोडबाट जुम्ला सिंङ्जा गा.पा. ६ हाल किर्तिपुर वस्ने वर्ष २० को पुन्दलाल बुढालाई मोटरसाइकलसहित पक्राउ गरेको हो । यहि मंसिर ८ गते बत्तिसपुतलीबाट हराएको बा.प्र.०२-०२२प ६५१८ नम्बरलाई परिबर्तन गरि बा.प्र-०२-०२५प १३९१ प्रयोग गरेको अबस्थामा यामाहाको R15 मोटरसाइकलसहित बुढा पक्राउ परेका हुन् ।
किर्तिपुर एरियाबाट काठमाडौंका २२ वर्षीय सन्तोष महर्जनसहित रौतहट गुजरा न.पा. २ घर भई हाल सानोभर्याङ बस्ने ३४ वर्षीय ज्ञानेन्द्र चौधरी, रौतहट गुजरा न.पा. ३ घर भई हाल बानेश्वर बस्ने ३२ वर्षीय रवि कुमार कुशवाहा, उदयपुर घर भई हाल किर्तिपुर बस्ने कमल बहादुर बस्नेत र बारा गढिमाई घर भई किर्तिपुर बस्ने २२ वर्षीय रन्जित प्रसाद गुप्तालाई पक्राउ गरिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
पक्राउ परेका चौधरी यस भन्दा अघि पनि मोटरसाइकल चोरीमा कारबाही भोगेका व्यक्ति हुन् । रौतहटका चौधरी र कुशवाहा मोटरसाइकल चोरी गिरोहका मुख्य व्यक्ति रहेको समेत अनुसन्धानबाट देखिएको एसएसपी भट्टराईले जानकारी दिए ।
त्यसैगरि किर्तिपुरबाट पक्राउ परेका रंजित प्रसाद गुप्ताले चोरी गरि ल्याएका मोटरसाइकलहरुलाई ग्यारेजमा सुरक्षित राख्ने, सामानहरु डिस्मेण्टल गर्ने र फेरबदल गर्ने गरेको समेत देखीएको भट्टराईको भनाइ छ ।
गुप्ता किर्तिपुरमा रहेको रंजित मोटरसाईकल वर्कसपका संचालक समेत रहेको खुल्न आएको महाशाखाले जनाएको छ । पक्राउ परेका गुप्ता र सन्तोष महर्जनले ग्राहकहरु खोज्ने र सस्तो मुल्यमा मोटरसाइकलहरु किनवेच गर्ने मुख्य भुमिका समेत खेल्ने गरेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले बताएको छ ।
बरामद गरेका ७ थान मोटरसाइकल मध्य एउटा यामाहाको R15 र अन्य ६ ओटा २२० सिसिको पल्सर मोटरसाइकल रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै गरि ईन्जिन तथा विभिन्न भागहरू काटेर टुक्रा पारेको अवस्थामा यहि असोजमा ताहाचलबाट हराएको बा-प्र-०२-०१९प ९४९८ नम्बरको २२० सिसि पल्सर मोटरसाइकल समेत बरामद गरेको महाशाखले जानकारी दिएको छ ।
पक्राउ गरिएको मोटरसाइकल र चोरीमा संलग्नहरूलाई आवश्यक कारवाहीको लागि विभिन्न महानगरीय प्रहरी वृत्तहरूमा पठाइएको महाशाखाले जनाएको छ ।