काठमाडौं । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भेष बहादुर शाहले अनिवार्य अवकाश पाएका छन् । डीआईजी बढुवाको प्रतिष्पर्धामा रहेका एसएसपी शाहले ३० वर्षे सेवाअवधिका कारण गत बुधबारबाट अनिवार्य अवकाश पाएका हुन् ।
डीआईजी पद रिक्त रहे पनि समयमा सरकारले बढुवा प्रक्रिया अघि नबढाउँदा बढुवा नभइ घर फर्किनु परेको शाहको गुनासो छ । आफूमाथि सरकारले अन्यायपूर्ण व्यवहार गरेको उनको दुखेसो छ । शाहलाई सशस्त्रले बुधबार विशेष समारोहकाबीच विदा गरिसकेको छ ।
एसएसपी शाहले दाङ, रुपन्देही, बाँके, मोरङ, उदयपुर जिल्लाका सशस्त्र प्रहरी गण तथा सशस्त्र प्रहरी कार्यालयको सफल कमाण्ड गरिसकेका छन् । त्यस्तै तनहुँ, मुस्ताङ, सिन्धुपाल्चोक र चितवनमा समेत एसएसपी शाहले इमान्दार र व्यावसायिक रुपमा कार्यसम्पादन गरिसकेका छन् ।
साथै एसएसपी शाहले आफ्नो कार्यकालमा सीमा क्षेत्रमा हुने मानव तस्करी, अवैध हातहतियारको कारोबार, लागूऔषध ओसारपसार, अवैध मदिरा ओसारपसार, चोरी तस्करी र अपहरण जस्ता जघन्य अपराधिक क्रियाकलापका घटना हुन नदिन र सीमा क्षेत्रको शान्ति सुरक्षा मजबुत बनाउने कार्यमा महवपूर्ण योगदान पुर्याएका छन् ।
शाहले २०७० सालमा रुपन्देहीमा कार्यरत रहँदा संविधान सभाको चुनाव र मोरङमा कार्यरत रहँदा संसदीय निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराएका थिए । उदयपुर जिल्लामा कार्यरत रहँदा गुल्मको लागि जग्गा प्राप्त गरि गुल्म स्थापना गर्नुकासाथै धेरै ठाउँमा बोर्डर आउट पोष्ट (विओपी) को स्थापना गरेका थिए ।
त्यस्तै ७ नम्बर बाहिनीको सहायक बाहिनीपतिमा कार्यरत रहँदा शाहले कोरोना रोकथाम तथा नियन्त्रणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । केन्द्रीय निरीक्षणमा समेत युनिटलाई प्रथम बनाउन सफल भएका एसएसपी शाहले यती धेरै जिल्लाको कमाण्ड गरिसक्दा पनि सरकारले आफूलाई कुनै पनि पदक नदिएकोप्रति दुख व्यक्त गरे ।