काभ्रे । प्रहरी पोष्ट देख्ने बित्तिकै सर्वसाधरणको मष्तिस्कमा प्रहरीले डिउटीमा खटेर सेवा प्रवाह गरिरहेको छ भन्ने हुन्छ । तर, काभ्रेको पनौती जाने बाटोमा रहेको अस्थाई ट्राफिक प्रहरी पोष्टमा प्रहरी नबस्ने गरेको वर्षौ भएको छ ।
जिल्ला ट्राफिक कार्यलय काभ्रेले स्थापना गरिएको प्रहरी अस्थाई पोष्टमा अहिले प्रहरी बसेको देखिदैन । ट्राफिक प्रहरी पोष्ट बनेको केही समयसम्म ट्राफिक प्रहरी बसेर सेवा दिइरहेको अस्थायी पोष्टमा अहिले गिट्टी डिपोले गिट्टी थुपारेर राख्न थालेका छन् । प्रहरी पोष्ट वरीपरी डिपोले गिट्टी राख्न थालेपनि ट्राफिक प्रहरीले कुनै चासो दिएको देखिदैन ।
पनौती सडकमा सधै जसो सडक जाम हुने, सडकमा सवरीको चाप र उक्त सडकमा टिपरहरु धेरै मात्रमा ओभर लोड कुदाउन थालेपछि सवारी व्यवस्थापनका लागि स्थानीयहरुको अनुरोधमा जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले ट्राफिक प्रहरीको लागि अस्थाई पोष्ट निर्माण गरिएको थियो ।
स्थानीयहरुको जन-गुनासो आएसंगै उक्त सडकबाट गुड्ने टिपर र सडक चापलाई कम गर्नको लागि प्रहरी निरिक्षक निषेश चापागाईको पहलमा अस्थाई पोष्ट स्थापना गरिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यलयबाट प्रहरी निरीक्षक हिडे र २-३ नयाँ निरीक्षक आएसंगै उक्त पोष्ट खाली भएको देखिन्छ ।
केहि समय पहिला पोष्ट स्थापना संगै ट्राफिक प्रहरी बस्न थालेपछि टिपर कुदाई र दुर्घटना न्युनिकरणमा समेत कम भएको स्थानीयहरु बताउछन् । ट्राफिक प्रहरी बस्नु भन्दा अघि र प्रहरी बस्न थालेपछि यो सडकमा टिपरको कुदाइ नै फरक थियो, स्थानीयले भने । अहिले ट्राफिक प्रहरी पोष्टमा मात्र भएको प्रहरी नबस्ने गरेकाले पनौती सडकमा फेरिपनि सडक जाम हुने टिपरहरु धेरैमात्र कुदाउने, टिपरमा ओभर लोड बोक्ने गरेको पनौतीका एक स्थानीयले जानकारी दिए ।
पोष्ट मात्र हुने प्रहरी बस्दैनन् भन्ने भएकाले टिपर चालकहरुले तिब्र गतिमा टिपर कुदाउने गरेकोे स्थानीयहरु बताउँछन् । पोष्टमा प्रहरी नै हुदैन, चेकजाँच नै हुँदैन भन्ने भान भएकाले टिपर चालकले अन्य सवरीहरुलाई समेत पनौती रोडमा पेलेरै चलाउने गरेको स्थानीयहरु बताउँछन् ।
अस्थाई ट्राफिक प्रहरी पोष्ट छ, ट्राफिक प्रहरी किन छैन भनेर जिल्ला ट्राफिक प्रहरी कार्यलय काभ्रेकी प्रमुख प्रहरी निरीक्षक प्रमिला श्रेष्ठलाई प्रश्न गर्दा, जिल्लामा ट्राफिक प्रहरीको जनशक्ति कम भएको कारणले ट्राफिक पोष्टमा प्रहरी बस्ने नगरेको बताइन् । उनका अनुसार ट्राफिक प्रहरीले पनौती बजारबाटै सडक व्यवस्थापन गर्ने गरेको छ ।