मोरङ । मोरङ प्रहरीले अपराधिक घटनाबाट पीडित बनेकाहरुलाई लक्षित गरेर नौलो अभियान सञ्चालन गरेको छ । पछिल्लो समय प्रहरीले पीडितहरुसँग प्रत्यक्ष भेटघाट थालेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ र मातहत प्रहरी ईकाई समेतले पीडित पुन: भेटघाट कार्यक्रम २०७८ को असोज १ गतेबाट सुरूवात गरेको हो ।
पीडक (कसुरदार) लाई कानून बमोजिमको दण्ड दिनु, समाजलाई अपराध र अपराधको भयबाट मुक्त राख्नु र पीडितलाई कानून बमोजिम उचित न्यायीक उपचार उपलब्ध गराउने उद्देश्यका साथ पीडित मैत्री वातावरण सिर्जना गर्दै, पीडक र निजको पक्षबाट पीडितलाई हुन सक्ने दवाव, प्रभाव तथा हस्तक्षेपलाई रोक्न, पीडितलाई सुरक्षित अनुभूति गराउन, पीडितको पिडा कम गर्दै आत्मबल अभिवृद्धि गर्न र पीडितलाई कानून बमोजिम सहयोग गर्नका लागि उक्त कार्यक्रमको सुरुवात गरिएको हो ।
कार्यक्रम सुरूवातको क्रममा २०४२ भदौ १८ गते भएको खुन डाँका मुद्दाका पीडितसँग जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसी सहितको टोलीले भेटी पीडित पुन: भेटघाट कार्यक्रम शुरू गरिएको हो ।
उक्त घटनामा संलग्न रही फरार मोरङ कटहरी गाउँपालिका-७ तकिया बस्ने ८७ वर्षीय उजारू चौधरी थारू र सोही ठाउँ बस्ने ५० वर्षीय शिवना सरदार वातरलाई ३६ वर्ष पछाडि गत भदौ ९ गते पक्राउ गरी कानूनी कारवाही भएको जानकारी गराउँदा पीडितले न्याय पाएकोमा खुशी ब्यक्त गरे ।
साथै मातहत कार्यालयहरूबाट समेत अन्य स्थानका पीडितहरूलाई प्रहरी घरमै पुगेर प्रत्यक्ष भेटघाट गरी कानूनी परामर्श, प्रकृयाको जानकारी र पिडकलाई कानूनी कारवाही सम्बन्धमा जानकारी गराउँदा सबैले खुशी ब्यक्त गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।