काठमाडौं । नियमित ड्युटीको समयमा मदिरा सेवन गरेको भेटिएपछि काठमाडौं प्रहरीले एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई नियन्त्रणमा लिएको छ।
महानगरीय प्रहरी बृत्त कीर्तिपुरका इन्स्पेक्टर दीपेन्द्रबहादुर पाल ड्युटीको समयमा मादक पदार्थ सेवन गरेर मात्तिएको अवस्थामा भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया शुरु गरेको छ।
शुक्रबार साँझ महानगरीय नगर प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) पवन भट्टराई नेतृत्वको टोली उपत्यकाको प्रहरी युनिटको ड्युटी चेकजाँचमा निस्केको थियो। सोहिक्रममा उक्त टोलि रातको करिब ११ बजे कीर्तिपुर बृत्तमा पुगेर ड्युटी चेकजाँच गर्ने क्रममा त्यहाँ कार्यरत इन्स्पेक्टर पाल मदिराले मातेको अवस्थामा भेटेपछि चेकजाँच टोलिले उनलाई नियन्त्रणमा लिएको एक प्रत्यक्षदर्शीले प्रहरी कर्मचारीले जानकारी दिए।
उक्त टोलिले इन्स्पेक्टर पाललाई नियन्त्रणमा लिएर सिधै वीर अस्पतालमा लगेको थियो। त्यहाँ उनको मेडिकल चेकजाँच गरेपछी उनलाई शुक्रबार रातिदेखि महानगरीय प्रहरी परिसर काठमाडौंको आन्तरिक थुनामा राखिएको छ।
'हामीले अहिले गम्भीरताका साथ छानबिन गर्दैछौं, कुन लेभलको कारबाही गर्ने छानबिनपछि टुंगो लाग्छ।' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआईजी शैलेस थापा क्षेत्रीले भने। 'बिभागिय आचारसंहिता उल्लंघन गर्नेलाई हदैसम्मको कारबाही हुन्छ।'
महानगरीय प्रहरी कार्यालयले उपत्यकामा कार्यरत सिनियर प्रहरी अधिकृतहरुलाई हरेक दिन चेकजाँचमा खटाएको हुन्छ।कहिले डिएसपी त कहिले एसपीको कमाण्डमा खटिने टिमले उपत्यकाको प्रहरी युनिट तथा कारागारमा हरेक रात आन्तरिक चेकजाँच गर्दै आएको छ। सोहिक्रममा शुक्रवार साँझ चेकजाँचको लागि उक्त टिम कीर्तिपुर बृत्त पुगेको थियो।
त्यसो त उक्त बृत्तका डिएसपी छेदिलाल कामतीको कार्यसम्पादन अत्यन्तै कमजोर देखिएको भन्दै प्रहरी प्रधान कार्यालयले उनलाई जिम्मेवारीबाट हटाउने तयारी थालेको छ। त्यस्तै महानगरीय प्रहरी बृत्त गौशालाका प्रमुख प्रदिपकुमार सिंह कमाण्ड कन्ट्रोलमा कमजोर देखिएपछी उनलाई पनि हटाउने तयारी रहेको बुझिएको छ। प्रहरी प्रधान कार्यालयले एकबर्ष कार्यकाल पूरा भएका बालाजु , थानकोट र सातदोबाटो बृत्तको नेतृत्व परिवर्तनको तयारी गरेको छ।