काठमाडौं । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउदै आजबाट महेन्द्रशालीक र ज्ञानेश्वर ओरालो चोकमा नयाँ ट्राफिक लाईट जडान गरी सञ्चालनमा ल्याईएको छ । ट्राफिक प्रहरी महाशाखाले एनसेलसँग समन्वय गरी दरबारमार्गको महेन्द्रशालीक र कामना सेवा विकास बैंकको सहयोगमा ज्ञानेश्वर ओरालोमा नयाँ ट्राफिक लाईट जडान गरि आजदेखि संचालनमा ल्याएको छ ।
नयाँ जडान गरिएको महेन्द्रशालीक चोकको ट्राफिक लाईट महाशाखाका प्रमुख एसएसपी जनक भट्टराई र एनसेलका सुरक्षा प्रमुख सम्पत अर्यालले स्वीच अन गरी संयुक्त रूपमा उद्घाटन गरेका हुन् भने नक्साल भगवतीको ट्राफिक लाईट एसएसपी भट्टराई र बैंकका सिईओ प्रबिन बस्नेतले गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले उपत्यकाको सवारी चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिदै आएको बताए । “हामी ट्राफिक व्यवस्थापनलाई प्रबिधिमैत्री बनाउने अभियानमा छौं, यसको लागी विभिन्न निकायहरूसँग निरन्तर समन्वय र सहकार्य गर्दै आईरहेका छौं । आज जडान भएका लाईट त्यसैको परिणाम भएको र आगामी दिनहरुमा अन्य चोकहरुमा समेत ट्राफिक लाईट राख्न हातेमालो गर्ने योजना समेत रहेको छ ।” भट्टराईले भने :- “प्रविधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्रमुख प्राथमिकता दिएको छ ।”
कार्यक्रममा बोल्दै एनसेलका सुरक्षा प्रमुख सम्पत अर्यालले ट्राफिक लाईटको प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भूमिका खेल्ने बताए । पछिल्लो समय ट्राफिक प्रहरीले प्रबिधिलाई जोड दिदै ट्राफिक लाईट जडानमा खेलेको भुमिकाको प्रशंसा गर्दै आगामी दिनमा अन्य स्थानहरुमा ट्राफिक लाईट जडान र अन्य कार्यहरुमा सहकार्य एव सहयोगी बन्ने समेत बताए ।
बैंकका सिईओ बस्नेतले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै आम सेवाग्राहिलाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्यालाई ट्राफिक लाईट महत्वपुर्ण सहयोगी बन्ने बिश्वास व्यक्त गरे । आगामी दिनहरुमा ट्राफिक व्यवस्थापन लगायतका कार्यहरुमा समन्वय एव सहकार्य गर्दै जाने बताए ।
उद्घाटन कार्यक्रममा महाशाखाका प्रमुख, स्थानिय निकायका पदाधिकारीहरू, सहयोगी संस्थाका पदाधिकारीहरू र अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउदै दुर्घटना न्युनिकरणको लागी आगामी दिनहरुमा अन्य चोकहरुमा लाईट जडानको लागी समन्वय एव सहकार्य भैरहेको महाशाखाले जनाएको छ ।
ट्राफिक लाईट सञ्चालनमा आएका चोकहरुमा लाईटको पूर्ण पालना गरिदिनु हुन सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।