महोत्तरी । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय महोत्तरी परिसरमा नवनिर्मित कार्यालय, व्यारेक, कार्यालय प्रमुख निवास, मेस, हिरासत कक्ष तथा सिनियर प्रहरी अधिकृत आवास भवनहरुको शुक्रबार आयोजित एक कार्यक्रमबीच समुद्घाटन गरेका छन् ।
सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भवन निर्माण कार्यमा योगदान पुर्याउने महानुभावहरुलाई प्रशंसापत्र एवं कदरपत्र प्रदान गरे ।
कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भौतिक पूर्वाधारमा सुधार भएजस्तै प्रहरीको आचरण व्यवहार सुधार गर्नुपर्ने चर्चा गर्दै प्रहरी समक्ष आउने सेवाग्राहीलाई उत्कृष्ट व्यवहारका साथ सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । अहिलेको प्रतिकुल अवस्थामा पनि प्रहरीले धेरै उत्कृष्ट कार्यहरू सम्पादन गरेको चर्दा गर्दै प्रहरी र जनता सदैव संयुक्त रुपमा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा प्रदान गर्ने कार्यमा जुट्नुपर्ने उनले बताए ।
प्रहरीले गरेको प्रशंसायोग्य कार्यहरूमा प्रहरीलाई स्यावासी दिए अझै उत्साहित भएर राम्रो काम गर्न अभिप्रेरित हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नागरिकको हरेक समस्या समाधनको लागि प्रहरीले हर-हमेसा साथ र सहयोग गर्नुपर्ने बताए ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश रंजितकारले धन्यवाद ज्ञापन गरेका उक्त कार्यक्रममा मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डल र प्रमुख जिल्ला अधिकारी तीर्थ भट्टराईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक दिनेश कुमार आचार्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने प्रहरी निरीक्षक ई. चिरन्जीवी प्रताप महतोले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नेपाल सरकारको नियमित बजेटबाट कुल ९ करोड २८ लाख १० हजार २ सय ४० रुपैयाँ २८ पैसाको लागतमा उक्त भवनहरुको निर्माण कार्य सम्पन्न भएको हो ।
कार्यक्रममा २ नम्बर प्रदेशस्थित वरिष्ठ प्रहरी अधिकृतहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, जिल्ला न्यायाधिवक्ता, पत्रकार महासंघका अध्यक्ष, सामुदायिक प्रहरी सेवा केन्द्र जलेश्वरका पदाधिकारीहरू एवं अमर प्रहरीका परिवारजन लगायतको उपस्थित रहेको थियो ।