काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मुकुन्दराज आचार्य ५९५ थान मोबाइल तस्करी प्रकरणमा मुछिएका छन् ।
पश्चिम नवलपरासीबाट निर्वाचित सांसद एवम् पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले बिहीबारको प्रतिनिधि सभा बैठकमा डीआईजी आचार्यलाई निलम्बन गरी उच्चस्तरीय छानबिन समिति गठन गरेर कारबाही गर्न माग समेत गरेका छन् ।
गत सोमबार राती मोटरसाइकलको ठक्करबाट ज्यान गुमाएका ईलाका प्रहरी कार्यालय बर्दघाटका तत्कालीन प्रमुख प्रहरी निरीक्षक कपिल वाग्ले नेतृत्वको टोलीले सो परिमाणको मोबाईल बरामद गरेर छोडेको थियो ।
पश्चिम नवलपरासी प्रहरी स्रोतका अनुसार तस्करीको उक्त मोबाइल लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी मुकुन्दराज आचार्य र नवलपरासीका एसपी मनोज यादवको मिलेमतोमा चितवनतर्फ पठाउन लागिएको बुझिएको छ ।
चेकजाँचको क्रममा बर्दघाट प्रहरीले नियन्त्रणमा लिएको मोबाइल बोकेको गाडी छुटाउन डीआईजी आचार्य र एसपी यादवले दबाब दिएका थिए ।
बर्दघाटले छोडेका दुई अभियुक्त पूर्व नवलपरासीको दुम्किबासमा पक्राउ परेपछि ‘मोबाइल र सामान छाडेको कसरी बाहिर लिक भयो’ भनेर डीआईजी आचार्यले प्रहरी निरीक्षक वाग्लेलाई मानिसक यातना दिएको कँडेलको दाबी छ ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कँडेलले २१ साउनमा नवलपरासी पश्चिममा मृत्यु भएका प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्युमा डीआईजी आचार्यको मानिसक यातना पनि कारक भएको आरोप लगाए ।
‘डीआईजी आचार्यको दबाबका कारण मानिसकरुपमा असन्तुलित हुने परिस्थित भएर व्यस्त राजमार्गमा बाटो काट्दा दुर्घटनामा परेर वाग्लेको मृत्यु भयो’ कँडेलले भने, ‘सरसर्ती हेर्दा सवारी दुर्घटनामा मृत्यु भएको देखिए पनि आचार्यको कारण मानिसक सन्तुलन गुमाएकाले मृत्यु भएको हो ।’
वाग्लेलाई निलम्बन गरिएको पत्र २५ साउनमा आएपछि ६:२० बजे मातहतका कर्मचारीलाई सम्बोधन गरेर ‘छोडाउने र छाड्न लगाउने, कसैलाई विश्वास गर्नु हुँदैन’ भनेर उनी पैदल निस्किएको संसदमा कँडेलले बताएका छन् ।
तस्करीलाई छाड्ने कार्यमा प्रहरीको उच्च तहसम्म संलग्न हुने गरेको बताउँदै कँडेलले भने, ‘उनीहरु जोगिने र तल्लो तहको कर्मचारीको टाउकोमा थोपरेर तलकालाई जेलनेल गर्ने रोक्नुपर्छ ।’ कँडेलले भने ।
पुर्वी नवलपरासी प्रहरी स्रोतका अनुसार पक्राउ परेका अर्जुन ढकालले लुम्बिनीका डीआईजी आचार्यको निर्देशनमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको गाडीले स्कर्टिङ गरेको बताएका थिए।
हाल लुम्बिनी प्रदेश प्रहरी प्रमुख रहेका डीआईजी आचार्य एसपी हुँदा नवलपरासीको नेतृत्व गरेका थिए । उनको कार्यकालमा नवलपरासीमा तस्करीको धन्दा व्यापक मौलाएको जानकारहरु बताउछन् ।
बिश्वस्त स्रोतका अनुसार मोबाईल छुटाउन १३ लाख खातामा राख्न लगाउने घुमुवा प्रहरी जवान सन्जिव धमला डीआईजी आचार्यका बिश्वासपात्र हुन् । लुम्बिनी प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेपछी डीआईजी आचार्यले प्रहरी निरीक्षक दीपक महतको नेतृत्वमा सादा पोशाकको टोली परिचालन गरेका छन् । उक्त टोलिमा धेरैजसो असुली धन्दामा मुछिएका बदनाम पात्रहरु रहेको बुझिएको छ ।
यहि साउन २१ मा पुर्वी नवलपरासीको ईलाका प्रहरी कार्यालय दुम्किबासका प्रमुख प्रहरी निरीक्षक हिक्मत थापा नेतृत्वको प्रहरी टोलिले एक पिकअप गाडीबाट ५९५ थान मोबाइल बरामद गरेको थियो ।
ईलाका प्रहरी कार्यालय दुम्किबासले विशेष सूचनाको आधारमा दुम्किबास बजारबाट चितवनका अर्जुन ढकाल र पिकअप चालक इन्द्रलाल श्रेष्ठलाई पक्राउ गरेपछी मोबाइल तस्करी प्रकरणमा लुम्बिनी प्रदेशका डीआईजी आचार्यको संलग्नताको आरोप लागेको हो ।
उच्च स्रोतका अनुसार ईलाका प्रहरी कार्यालय दुम्किबासले सो मोबाईलहरु बरामद गर्नुअघि ईलाका प्रहरी कार्यालय बर्दघाटले पक्राउ गरेर छोडेको खुल्न आएको छ ।
पक्राउ परेका ढकालले ईलाका प्रहरी कार्यालय बर्दघाटका घुमुवा प्रहरी जवान सञ्जीव धमलाको बैंक खातामा १३ लाख रुपैयाँ जम्मा गरिदिएपछि उनीहरुलाई छाडिएको देखिएको कँडेलले दाबी गरे ।
हेर्नुस् भिडियो