काठमाडौं । सिभिल ग्रुपका संस्थापक इच्छाराज तामाङ सिभिल सहकारीको आठ अर्ब १३ करोड घोटालामा मुछिएका छन् । काठमाडौंको सोल्टीमोडमा रहेको सिभिल सहकारी संस्थाको संस्थापक अध्यक्ष रहेको बेला तामाङले निक्षेपकर्ताको रकम आफ्नै रियलस्टेट कम्पनी 'सिभिल होम्स' मा लगानी गरेको खुल्न आएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा सिभिल ग्रुप अन्तर्गतको एक कम्पनी मालिक र अर्को कम्पनी ऋणी बनेर निक्षेपकर्ताको अर्बौं रकम घोटाला गरेको भेटिएपछि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) ले अनुसन्धानलाई तिब्रता दिएको छ ।
सिभिल ग्रुपका संस्थापक रहेका इच्छाराज तामाङले सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभमा सर्वसाधारण निक्षेपकर्ताले जम्मा गरेको साढे सात अर्ब भन्दा बढी रकम अपचलन गरेको भेटिएपछि केन्द्रिय अनुसन्धान ब्यूरोले गम्भीरताका साथ अनुसन्धान शुरु गरेको ब्यूरोका एक उच्च अधिकारीले सुरक्षा न्युजलाई जानकारी दिए ।
ती अधिकारीका अनुसार सिभिल सहकारीले सिभिल समुहकै संस्थापकका परियोजनामा कुल कर्जाको ८६ प्रतिशतभन्दा बढी लगानी गरेको भेटिएको छ ।
आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षण प्रतिवेदनअनुसार आठ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा सिभिल ग्रुपका संस्थापक तामाङको रियल स्टेट व्यवसाय (सिभिल होम्स) मा सबै रकम लगानी गरिएको छ । आफैं सञ्चालक भएको सहकारीको निक्षेप रकम निजी कम्पनीमा लगाएर आर्थिक अपराध गरेको भेटिएपछि ब्यूरोले अनुसन्धान शुरु गरेको बुझिएको छ ।
सहकारी ऐन २०७४ मा कुनै पनि सहकारीले कुल पुँजीकोषको १० प्रतिशतभन्दा बढी कर्जा एकै व्यक्तिलाई दिन नमिल्ने प्रावधान छ । सहकारीले संस्थालाई ऋण दिनै नमिल्ने ऐनमा व्यवस्था हुँदाहुँदै सिभिल सहकारीका संस्थापक तामाङले सर्वसाधारणको निक्षेपको दुरुपयोग गर्दै आफ्नो व्यापारमा अर्बौं रकम प्रयोग गर्दै आएका छन् ।
सिभिल सहकारीमा २ हजार ६ सय ९० बचतकर्ता छन् । सहकारीले निक्षेपकर्ताबाट सात अर्ब ५१ करोड निक्षेप संकलन गरेको छ । तर कर्जा भने आठ अर्ब १३ करोड ६७ लाख प्रवाह गरेको भेटिएको छ । आर्थिक वर्ष २०७४/७५ को लेखा परीक्षण प्रतिवेदनअनुसार संस्थाले आठ अर्ब १३ करोड ६७ लाख रुपैयाँ कर्जामध्ये सिभिल होम्स प्रालि लगायतका आफ्नै ग्रुपका कम्पनीमा ७ अर्ब ४३ करोड रुपैयाँ लगानी गरेको खुल्न आएको छ ।
सिभिल ग्रुपका अध्यक्ष तामाङले आफू सहकारी संस्थाको अध्यक्ष भएकै बेला रियल स्टेटमा कर्जा दुरुपयोग गरेको भेटिएपछि उनलाई पक्राउ गर्ने तयारी थालिएको छ । दुई कार्यकाल सिभिल सहकारीको अध्यक्ष भएका पेसाले इन्जिनियर तामाङ सहकारी अध्यक्ष, रियलस्टेट व्यवसायी र सिभिल बैंकका अध्यक्ष समेत छन् । अघिल्लो पटक सांसद समेत भएका तामाङ अध्यक्ष रहेको सिभिल बैंक लिमिटेड पनि आर्थिक घोटालामा मुछिदै आएको छ ।
पछिल्लो समय ललितपुर प्रहरीले मुद्दा चलाएको गुडविल कोअपरेटिभको सम्पत्ति गैरकानुनी तरिकाले लिलाम गरिएको भन्दै सहकारी पीडितहरुले नेपाल राष्ट्र बैंकदेखि केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) लाई समेत गुहारेका छन् । ललितपुर प्रहरीले ठगी मुद्दा चलाएपछि गुडविलका अध्यक्ष दिवाकर श्रेष्ठ मुद्दा पुर्पक्षको लागि नख्खु कारागारमा छन् भने उनकी श्रीमती जेनी श्रेष्ठ फरार छिन् ।
फरार रहेकी जेनीलाई ललितपुरका मिटरब्याजी रवि महर्जनको समुहले संरक्षण गर्दै आएका छन् । कुनै समय ठमेलमा बाउन्सरको काम गर्ने महर्जन अहिले आधा अर्ब सम्पत्तिको मालिक भईसकेका छन् । सिभिल बैंक संगको मिलेमतोमा महर्जनको समुहले गुडविल सहकारीको सम्पत्ति गुपचुपमा बिक्रि गर्दै आइरहेको थुनामा रहेका दिवाकर श्रेष्ठनिकट स्रोतले जानकारी दियो ।