काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पेशेवर रूपमै मोटरसाइकल चोरी गर्ने एक जनालाई दुई वटा मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ ।
सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले भक्तपुर, कौशलटारबाट बा९५प २३३ नम्बरको केटिएम डुक २०० सिसिको मोटरसाइकललाई विना साँचो डाईरेक्ट स्टार्ट गरी चलाई रहेको अवस्थामा कमलामाई नगरपालिका-७, दोलखा घर भएका १९ वर्षीय विज्ञान भुजेललाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिए ।
उक्त मोटरसाइकल आइतबार भक्तपुर सानोठिमीबाट हराएको भनी बैदेश्वर गाउँपालिका-३, दोलखा घर भएका कृष्ण कार्कीले यस महाशाखामा जानकारी गराएका थिए । चोरी भएको सुचना प्राप्त हुनासाथ ट्राफिक महाशाखाको सादा पोसाकको टोलीले खटिएको ट्राफिक प्रहरीको टोलीले आइतबार दिउँसो नै उक्त मोटरसाइकलसहित एक जनालाई नियन्त्रण लिन सफल भएको एसएसपी भट्टराईले बताए ।
नियन्त्रणमा लिई थप अनुसन्धान र सोधपुक्ष पश्चात बा८३प ३३४५ नम्बरको २०० सिसि एनएस रातो पल्सर मोटरसाइकल समेत कौशलटारबाट बरामद गरेको छ । उक्त मोटरसाइकल गत जेठ १० गते बालकुमारी, ललितपुरबाट हराएको भनी गोदावारी नगरपालिका-६, टिकाभैरव घर भएका लक्ष्मण रानाले हुलिया निवेदन महाशाखामा दिएका थिए ।
पक्राउ परेका व्यक्तिलाई मोटरसाइकलहरू सहित चोरी मुद्दामा अनुसन्धान कारबाहीका लागी महानगरीय प्रहरी बृत्त, ठिमीमा बुझाएको महाशाखाले जनाएको छ ।
पछिल्लो समय उपत्यकाको बिभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाइकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी विशेष कारबाही अभियान ट्राफिक महाशाखाले निरन्तर रूपमा चलाई राखेको जनाएको छ ।
चोरी हुने गरेका मोटरसाइकल ट्राफिक प्रहरीले सक्रिय भएर खोजी तथा अनुसन्धान गरी सम्बन्धित धनीलाई बुझाउँदै आएको छ । चोरीमा संलग्न व्यक्तिलाई कानूनी कारबाही गर्दै आएको छ । साथै मोटरसाइकल चोरीलाई रोकथाम गर्न विभिन्न ठाँउमा खटिएर डिउटी गर्ने ट्राफिक प्रहरीले जथाभाबी पार्किङ नगर्न आग्रह गर्दै आएको छ । मोटरसाइकल चोरी हुनुभन्दा पहिले स्वयं धनी सचेत भएमा चोरीमा कमि आउने ट्राफिक प्रहरीको अपेक्षा छ ।