काठमाडौँ । करिब साढे १९ करोड रुपैयाँ बराबरका विभिन्न बैंक/वित्तीय संस्थाका चेकसहित मिटरब्याजी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १९ करोड ४३ लाख रुपैयाँ बराबरका विभिन्न बैंकका चेकसहित मेलुङ–१ दोलखा घर भई हाल भैंसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेतीलाई शुक्रबार साँझ चाबहिल मित्रपार्कबाट पक्राउ गरेको हो ।
उनीमाथि औपचारिक रूपमा अनुसन्धान सुरु भएको छैन । अदालतबाट आइतबार म्याद थप गरेर अनुसन्धान अघि बढाइने सीआईबीका डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए ।
उप्रेतीबाट दुई जनाले गत चैतमा ४ करोड १९ लाख रुपैयाँ लिएका थिए तर ऋणीलाई धम्क्याएर उनले ८ करोड ३० लाखको चेक लिए । मित्रपार्कमै ‘रिकन्डिसन हाउस’ सञ्चालन गरेका उप्रेतीले दोलखा मेलुङ घर भई भक्तपुर (ठिमी) बस्ने ४० वर्षीय प्रकाश कार्कीलाई २ करोड ६५ लाख रुपैयाँ ऋण दिएका थिए । त्यसबापत १ करोडको प्रतिमहिना १५ लाख ब्याज तोकेका थिए । तर, कार्कीलाई उनले राष्ट्र्रिय वाणिज्य बैंकको ४ करोड १६ लाख रुपैयाँको चेक काट्न लगाए ।
यसैगरी रामेछाप गोकुलगंगा घर भई कोटेश्वर बस्ने ६० वर्षका हेमराज गुभाजूलाई उप्रेतीले १ करोड ५४ लाख रुपैयाँ दिएका थिए । ऋण दिँदा महिनाको १ करोडको १५ लाख रुपैयाँ ब्याज तोकिएको थियो तर गुभाजूबाट चेक भने ४ करोड १४ लाखको लिए ।
डीआईजी सिंहका अनुसार चेकमा उल्लेख गरिएको मिति गुज्रिएपछि उप्रेतीले ऋणीलाई ज्यान मार्नेसम्मका धम्की दिने, बन्धक बनाउनेलगायत अपराध गर्ने गरेको खुलेको छ । सिंहले उप्रेतीबाट अरू पनि पीडित भएको हुन सक्ने भन्दै उजुरी दिन आह्वान गरेका छन् । उनका अनुसार उप्रेतीले १ करोडको एक दिनको १ लाख रुपैयाँसम्म उठाउने गरी मिटरब्याजको धन्दा चलाउने गरेको र यसमाथि अनुसन्धान जारी रहेको बताए । ‘१ करोड रुपैयाँको दिनमा १ लाखसम्म ब्याज तिर्नुपर्ने गरी विभिन्न व्यक्तिलाई मिटरब्याजमा रकम लगानी गर्ने र तोकिएको मितिमा रकम नपाए गुन्डा लगाएर असुल्नेसम्मका अपराधमा उप्रेतीको संलग्नता देखिन्छ, प्रारम्भिक अनुसन्धानमै भएका कारण विस्तृत विवरण खुलाउन बाँकी छ,’ सिंहले कान्तिपुरसँग भने ।
खासगरी उद्योग/व्यवसाय, कलकारखाना, निर्माण क्षेत्रलगायतमा आवद्ध व्यवसायीले बैंकमा ऋण तिर्ने बेला हुँदा यस्ता गिरोह मौका छोपेर बस्ने गरेको, समस्या टार्न पाइने आसमा ऋणीहरू चर्को ब्याज तिर्न तयार हुने र पछि यही विषय अपराधका रूपमा बाहिर आउने गरेको डीआईजी सिंहको भनाइ छ ।
ऋणीले गणेश उप्रेतीका नाममा काटेको चेक । उप्रेतीले फरक-फरक बैंकका यस्ता धेरैवटा चेकमार्फत रकम असुलेका छन् ।
उप्रेतीले पनि गुभाजू र कार्कीलाई यसैगरी प्रलोभनमा ब्याजमा ऋण दिए तर दोब्बर रकमको चेक काट्न लगाए । त्यही चेकलाई साँवासँगै जोडेर हिसाब गरे । त्यसो त मिटरब्याजको गलपासो यो मात्रै नयाँ होइन । मिटरब्याजको फन्दामा यसअघि पनि थुप्रै पीडित परिसकेका छन् । मिटरब्याजका नाममा आपराधिक लाभ लिएका केही व्यक्ति पक्राउ परे पनि अवैध लेनदेन/कारोबार रोकिएको भने छैन ।
२०७६ भदौमा सर्लाहीका श्याम परदेशी भनिने श्यामकृष्ण साह मिटरब्याजी धन्दाबाट आपराधिक आर्जन गरेको कसुरमा पक्राउ परे । नक्कली तमसुक बनाई चर्को असुली गरेर गाउँलेलाई नै उठिबास गरेको कसुरमा उनी पक्राउ परेका थिए । परदेशीबाट २ सय ९९ स्थानीयले १ करोड ९ लाख २१ हजार ऋण लिएका थिए । तर, साँवा तिरिसक्दा पनि नक्कली तमसुक बनाएर पटकपटक गरी ६ करोडभन्दा बढी असुलेको आरोपमा उनी पक्राउ परे । पैसा तिर्न नसक्नेहरू घरबारविहीन भए । त्यसपछि स्थानीय नै एक भएर काठमाडौं आई परदेशीविरुद्ध नेतादेखि प्रशासन र प्रहरीसम्म गुहारेका थिए । त्यसपछि परदेशी पक्राउ परेका थिए ।
गएको पुस ६ मा विराटनगरबाट मिटरब्याजी एजाज शेख चक्रवर्ती पक्राउ परे । शेखले व्यापारी, निर्माण व्यवसायीलगायतलाई मिटरब्याजमा रकम लगानी गर्ने, त्यसबापत सुरुमै चर्को ब्याजमा चेक काट्ने र तोकिएको मितिमा नदिएपछि बन्धक बनाएर धम्की दिनेलगायत काम गर्ने गरेको आरोपमा उजुरी परेको थियो । मिटरब्याजमै सञ्जय रौनियार पनि त्यहीताका पक्राउ परे । मन्टु उपनामले चिनिएका रौनियारले ४ लाख लिएर ३५ लाख असुलेका थिए ।
२०७५ असार १२ मा ललितपुरका महेशबहादुर सिंह मिटरब्याज, वन्यजन्तु तस्करी र अवैध हातहतियार कारोबारको कसुरमा पक्राउ परे । सिंहको साथबाट ६ थान हतियार पनि बरामद भएको थियो । काभ्रेका वीरेन्द्र श्रेष्ठ र बलराम सापकोटा पनि मिटरब्याजकै धन्दा चलाएको कसुरमा पक्राउ परेका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् ।