ललितपुर । नेपाल कम्पयुनिष्ट पार्टी (विप्लव समुह) का तत्कालिन ललितपुर जिल्ला इन्चार्ज तथा हालका उपत्यका व्युरो इन्चार्ज हितमान भन्ने नविन वि.क. जेल चलान भएका छन्।
गतबर्षको फागुन १० मा ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडी भएको बमबिस्फोटको घटनामा संलग्नताको आरोपमा यहि असोज ६ गते पक्राउ परेका बि.क.लाई ललितपुर जिल्ला अदालतले मुद्धा पुर्पक्षका लागि थुनामा पठाएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए।
अदालतको आदेशपछि उनलाई ललितपुरको नख्खु जेल चलान गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह) संग सम्बन्धित विभिन्न लेख तथा डायरीहरु सहित पक्राउ परेका बि.क. २०६४ मा संविधानसभा सदस्य हुँदै स्थानीय विकास राज्यमन्त्री समेत भएका थिए।
२०७५ फागुन १० गते साँझको समयमा ललितपुर महानगरपालिका १३ नख्खु स्थित एनसेल प्रा.लि. को मुख्य कार्यालयमा गराईएको वम विष्फोटनमा ४९ को सिंहप्रसाद गुरुङ्गको मृत्यु भएको थियो भने केही सर्वसाधारण घाइते भएका थिए। उक्त घटनापछि प्रहरीले बम विष्फोटनवाट कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध, विष्फोटक पदार्थ, संगठित अपराध र ज्यान मार्ने उद्योग समेत मुद्धा लगाएको थियो।
२०७५ चैत ९ गते ललितपुरको ठेचोबाट हातहतियार र विष्फोटक पदार्थ सहित पक्राउ परेका विप्लव समुहकै सुदर्शन भन्ने हेमन्त प्रकाश वली समेत भएको हातहतियार खरखजाना तथा विष्फोटक पदार्थ, राज्य विरुद्धको अपराध, संगठित अपराध समेत मुद्धामा बि.क. फरार थिए। महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको विशेष टोलीले उनलाई ललितपुर ईमाडोलस्थित वोझेपोखरीवाट नियन्त्रणमा लिएर ललितपुर जिल्ला अदालतमा पेश गरेको थियो। प्रहरीले उनको साथबाट प्रदेश ३–०२–००३ प ५१३१ नम्बरको मोटरसाईकल समेत बरामद गरेको छ।
लामो समय आतंकवाद सम्बन्धि अनुसन्धान गर्ने विशेष ब्युरो (तत्कालीन प्रतिआतंकबाद निर्देशनालय) मा काम गरेका एसएसपी टेकप्रसाद राईले करिब तीन साताअघि ललितपुर प्रहरीको कमाण्ड सम्हालेका हुन्। एसएसपी राईले ललितपुर प्रहरीको कमाण्ड सम्हालेयता सरकारद्वारा प्रतिबन्धित नेकपा (विप्लव समुह) को गैरकानुनी गतिविधि नियन्त्रणमा ललितपुर प्रहरीले विशेष अपरेसन संचालन गर्दै आएको छ। हालसम्म अबिबाहित राई नेपाल प्रहरीमा इमान्दार तथा कर्मठ अधिकृतको रुपमा परिचित छन्।