काठमाडौं । सरकारले नेपाल प्रहरीमा पाँच प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप्ने तयारी थालेको छ ।
गतवर्ष सरकारले नेपाल प्रहरीमा विद्यमान २६ डीआईजीको दरबन्दीलाई कटौती गरेर १४ मा झारेको थियो । पछि नेपाल प्रहरी प्रधान कार्यालयले दरबन्दी कटौतीले दैनिक कामकाज तथा चेन अफ कमाण्डमा प्रत्यक्ष असर गरेको भन्दै सरकारलाई आग्रह गरेपछि कटौती भएको १२ मध्ये ५ डीआईजीको दरबन्दी थपेर १९ पुर्याएको थियो । हाल प्रहरीमा १९ प्रहरी नायब महानिरीक्षक (डीआईजी) कार्यरत छन् ।
सातवटा प्रदेश प्रहरी कार्यालयमा ७ जना, उपत्यका प्रहरी कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय, साईबर ब्यूरो, विशेष ब्यूरो, केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी), प्रहरी एकेडेमी, अन्वेषण योजना निर्देशनालय, प्रवन्ध निर्देशनालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय, सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय र अपराध अनुसन्धान तथा कार्य बिभागमा १/१ गरि हाल जम्मा १९ जना डीआईजीहरु कार्यरत छन् ।
सरकारले पछिल्लो समय प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी ३ बाट पाँच पुर्याएको छ । सरकारले गतसाता एक एआईजीको दरबन्दी थप गरेर डीआईजी सहकुलबहादुर थापालाई एआईजी बढुवाको लागि सिफारिस गरिसकेको छ । नेपाल प्रहरीको भावी नेतृत्वमा जाने ब्याचको वृत्तिबिकास तथा विभागिय आवश्यकतालाई ध्यान दिँदै पाँच डिआईजीको दरबन्दी थपको तयारी थालेको उच्च स्रोतले जानकारी दियो ।
सोही अनुसार यसअगाडी डीआईजीले कमाण्ड गर्दै आएको महानगरीय ट्राफिक प्रहरी महाशाखा, त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय, लागूऔषध नियन्त्रण ब्यूरो, जुनियर प्रहरी शिक्षालय भरतपुरमा डीआईजीको दरबन्दी कायम गर्न लागिएको हो । त्यस्तै प्रशासन तथा मानवस्रोत विभागमा समेत डीआईजीको दरबन्दी थप्न लागिएको उच्च स्रोतको दाबि छ । 'तत्काल ५ ठाउँमा डीआईजीको दरबन्दी थप्ने गृहकार्य शुरु भएको छ । बाँकि रहने राष्ट्रिय सुरक्षा परिषद र अपराध अनुसन्धान बिद्यालयमा पनि डीआईजीको दरबन्दी थप्ने तयारी छ, त्यो अलि पछि होला ।' गृह मन्त्रालयसम्बद्ध उच्च स्रोतले भन्यो ।
पाँच डीआईजीको दरबन्दी थपिएपछी नेपाल प्रहरीमा जनपद समुहतर्फ कुल ६ डीआईजी पद रिक्त हुनेछ । आगामी मन्त्रीपरिषद् बैठकले डीआईजी सहकुलबहादुर थापालाई एआईजीमा बढुवा गरेपछि एक डीआईजीको दरबन्दी रिक्त हुँदैछ ।
दरबन्दी थप भएपछि हुने रिक्त ६ डीआईजी पदको लागि सिनियर ब्याचबाट एसएसपीहरु शौरभ राणा, सुशीलकुमार यादव, हरीराज वाग्ले, पुजा सिंह, बिक्रमबहादुर चन्द, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, नरबहादुर खत्री, मसाउद आलम खाँ, शेखर कोइराला र प्रदीपकुमार श्रेष्ठ डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् । उक्त टोलिमध्येबाट एसएसपी यादव, सिंह र उपाध्याय मध्येबाट दुईजना डीआईजी बढुवामा पर्नसक्ने सम्भावना रहेको स्रोतले जानकारी दियो ।
त्यस्तै २०७५ फागुन ७ मा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएको ब्याचबाट १३ जना एसएसपी डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् । नेपाल प्रहरीको भावी नेतृत्वमा जाने उक्त टोलिमा एसएसपीहरु दीपक थापा, सन्दीप भण्डारी, टेकप्रसाद राई, बसन्तबहादुर कुँवर, उमेशराज जोशी, भिमप्रसाद ढकाल, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, टेकबहादुर तामाङ, रामदत्त जोशी, मीरा चौधरी थारु, पोषराज पोखरेल र श्यामलाल ज्ञवाली डीआईजी बढुवाको प्रतिस्पर्धामा हुनेछन् । उच्च स्रोतका अनुसार एसएसपी दीपक थापा, सन्दीप भण्डारी, टेकप्रसाद राई, भिमप्रसाद ढकाल, बसन्तबहादुर कुँवर, उमेशराज जोशी र किरण बज्राचार्य डीआईजी बढुवाका बलिया दावेदार हुन् ।