काठमाडौं । सशस्त्र प्रहरीले रौतहट जिल्लाको गौर नगरपालिका-२ महादेवपट्टी स्थित सीमलघारीबाट विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको यमुनामाई गाउँपालिका-५ बस्ने ३० बर्षिय शंकर साह र सोही ठाउँ बस्ने २४ बर्षिय सेख मोहम्मद रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल विओपी गौरबाट सशस्त्र प्रहरी बरिष्ठ हवल्दार पदम सिंहको कमाण्डमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथमा नाईट्राभेट ट्याब्लेट १५ पिस, डाईजापाम ट्याब्लेट ५ पिस, प्रोमेथाजिन ट्याब्लेट ५ पिस, नोथिन ट्याब्लेट ५ पिस र गाँजा १० गा्रम फेला पारेकोे हो । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीको लागी अस्थाई प्रहरी चौकी महादेवपट्टीमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसैगरी महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ४ कनुवाबाट सशस्त्र प्रहरीले विभिन्न लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुली जिल्लाको कमलामाई नपा ८ बस्ने २५ बर्षिय यज्ञ बहादुर कार्की छन् ।
बा ६८ प ४१४२ नम्बरको मोसामा कनुवाबाट सम्सीतर्फ जाँदै गरेका निज कार्कीलाई सशस्त्र प्रहरी बल नेपाल विओपी सम्सीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सुमन्त कुुमार रायको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा निजको साथमा नाईट्राभेट ट्याब्लेट १०५ पिस, स्पास्मो ट्याब्लेट २३ पिस, सिरिन्ज ३ पिस, डाईजापाम इन्जेक्सन २ एमएल को २ पिस र नोफिन २ एमएल को २ पिस फेला पारेको हो ।
पक्राउ परेका निज कार्कीलाई बरामद लागूऔषध तथा उक्त मोसासहित आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।