काठमाडौं । झापाको भद्रपुर नगरपालिका-२ देउनियाँस्थित सीमा ईलाकबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित तीन जनालाई आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको भद्रपुर नगरपालिका-८ बस्ने १८ वर्षिय मुकेश थापा, १८ वर्षिय राम यादव र सोही नगरपालिका ४ बस्ने १८ बर्षिय प्रकाश भुजेल छन् ।
उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पृथ्वीनगरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा एफरक्स कफ सिरप ९ बोतल, नाईट्रोजन ट्याब्लेट ४ पत्ता र स्पास्मो प्रोक्सिभन प्लस २ बोतल फेला पारेको हो ।
पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
यसैगरी मेचीनगर नगरपालिका-६ मेचीडाँडास्थित सीमा ईलाकाबाट सोमबार सशस्त्र प्रहरीले करीव १५ ग्राम २ मिलिग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुली जिल्लाको तिनपाटन गाउँपालिका-४ स्थायी घर भई झापा जिल्लाको विर्तामोड नगरपालिका-९ बस्ने ३० वर्षिय निरोज खड्का छन् ।
उनलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश मेचीडाँडाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त परिमाणको ब्राउन सुगर फेला परेको हो ।
पक्राउ परेका खड्कालाई बरामद ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।