काठमाडौं । पछिल्लो एक सातामा अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी १७ जनाको मृत्यु भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार सिन्धुपाल्चोकमा ३ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानमा १/१ जनाको मृत्यु भएको हो ।
३० जेठदेखि शनिबार दिउँसोसम्म आएको बाढी, पहिरो र डुबानमा परी १७ जना घाइते भएका छन् । तीमध्ये १० जना पुरुष, ४ जना महिला, १ जना बालक र २ जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा ५ जना, म्याग्दी र डोटीमा ३/३ जना, जुम्लामा २ जना, कास्की, स्याङजा, चितवन र सल्यानमा १/१ जना रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
बाढी पहिरोमा परी २२ जना बेपत्ता भएका छन् । तीमध्ये १५ जना पुरुष, ५ जना महिला र २ जना बालक रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २१ जना र बाजुरामा १ जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।
बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ जना, सल्यानमा ८ जना, दाङमा ४ जना र कञ्चनपुरमा ३ जना गरी १ सय ९ जनाको उद्दार गरिएको छ ।
उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने, अवरोध सडक हटाउने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।