काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले नाबालिकाको सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमा अश्लील तस्वीर (फोटो) र भिडियो पठाउने एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१७ डल्लु बस्ने २६ वर्षीय सानु पौडेल रहेका छन् ।
पौडेलले ती नाबालिकाको फेसबुक म्यासेन्जरमा पटक पटक अश्लील भिडीयो पठाउने तथा पीडितको अनुहार एवं अपरिचित महिलाको नग्न शरीर जोडी मोर्फेड तस्वीर/ भिडियो पठाई दु:ख हैरानी दिनुका साथै चरित्र हत्या गर्ने कार्य गरेकाले उनलाई ब्यूरोको टोलीले गत जेठ २८ गते पक्राउ गरेको हो ।
त्यसैगरी सामाजिक सञ्जाल फेसबुक, टिकटक, युट्युब लगायतमा व्यक्तिहरुको तस्वीर, भिडियो दूरूपयोग गर्दै फोटोशप, म्युटिलेट गरी प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु, सार्वजनिक नैतिकता, शिष्टाचार विरूद्धका सामग्री, कसैप्रति घृणा वा द्रेष फैलाउने उदेश्यबाट प्रकाशन तथा प्रसारण गर्ने एक जना पक्राउ परेका छन् ।
बाग्लुङ नगरपालिका- ८ सिगाना बस्ने ५२ वर्षीय रामेनद्र खड्कालाई जिल्ला प्रहरी कार्यालय बाग्लुङको सहयोगमा गत जेठ २८ गते ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
साथै पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतको आदेशबाट ७/७ दिनको म्याद लिई आवश्यक अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।